जाजरकोट ९ मंसिर । भेरी जदीमा बस दुर्घटनाका मृतकको सोमबार सामूहिक दाहसंस्कार गरिएको छ ।
आइतबार फेला परेका ४२ शवमध्ये डाँडागाउँ ठ चाउलेचौरका १२ जनाको भेरी नदी किनार खलंगाको पिपेमा एउटै चितामा अन्त्येष्टि गरिएको हो । १४ वटा शवको भेरी किनारस्थित शिवालय छेउमा र अन्यको विभिन्न घाटमा अन्तिम संस्कार गरिएको छ ।
घटनामा मृत्यु भएका डाँडागाउँ ७ चावलेचौरका नरबहादुर बुढा, धीरज, पृथ्वीबहादुर, लालबहादुर, ध्रुव पुन, राजेश, तेजबहादुर, गिरिराज रोकाय, सत्यलाल, गणेश, प्रेमराज बोहरा र डम्बरको पिपेमा सामूहिक दाहसंस्कार गरिएको हो । उनीहरू सबै नातेदार पनि हुन् ।
खगेनकोट ४ का नन्दलाल शर्मा, पत्नी दीपा, बहिनी हरिमाया, छोरी एलिसा र यशुको पनि भेरीमा संयुक्त दाहसंस्कार गरिएको छ । यस्तै, ढिमे १ दम्दालाका उज्ज्वल मल्ल, बहिनी मोतीकला र छोरा आयुष तथा अन्य सातको नदी किनारको शिवालय छेउमा अन्त्येष्टि भएको छ ।
दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ भने ८ अझै बेपत्ता छन् । खलंगा१ की कालिका खड्का, रामीडाँडा ६ का दीपबहादुर बुढा र छोरी संगीता, ढिमे १ का कालिका मल्ल, लहँ २ थाप्लाका कर्णबहादुर खड्का र छोरा विपिन, झाप्रा ९ का केशव सुनार र चालक लक्ष्मण चौधरी फेला परेका छैनन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए । मृतक सबैको सनाखत र शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।
जिल्ला अस्पतालमा सोमबार मात्र ३० वटा शवको पोस्टमार्टम गरिएको डा. बोम बीसीले बताए । छिन्चु(जाजरकोट सडकको भुर८ रावतगाउँको भीरवाट ना३ख १४०८ नम्बरको यात्रु बस बिहीबार भेरी नदीमा खसेको थियो । बसमा सवार ११ जना घाइते छन् ।