काठमाडौँ, २३ कात्तिक । केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ । लगातार परेका चाडपर्व र नजिकिएको १८औँ सार्क शिखर सम्मेलनका कारण रगत सङ्कलन हुन नसक्दा रगतको अभाव देखिएको केन्द्रीय रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ । 
केन्द्रमा रगत अभाव भएपछि रगत लिन आउने सेवाग्राही मर्कामा परेका छन् । दुई/तीन दिनसम्म रगत लिन केन्द्रमा धाउँदा समेत रगत अभाव भएको भन्दै रित्तो हात फर्किनुपरेको सेवाग्राहीको गुनासो छ । 
  तर, नेपाल स्वयम्सेवी रक्तदाता समाजले भने रगत सङ्कलनको पारदर्शिता नभएकाले रगतको अभाव देखिएको बताएको छ । समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले रक्तदाता जुनसुकै समयमा पनि रगत दिन तयार रहेका कारण रगतको अभाव नभएको उल्लेख गरे । 
उनले सङ्कलन भएको रगतको वितरण व्यवस्थापनमा केन्द्र सक्रिय नदेखिएकाले रगतको अभाव भएको जानकारी दिए । उनका अनुसार केन्द्रमा रगतको व्यवस्थापन कमजोर भएकाले सङ्कलन भएको रगतसमेत खेर गइरहेको छ । 
केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले रक्तदाताहरूले चाडपर्वको अवसरमा आवश्यक रगत उपलब्ध नगराएका कारण अभाव भएको जिकिर गरे ।  उनले रगत प्रशोधन गर्न धेरै समय लाग्ने र प्रशोधनमा ढिला हुँदा प्रत्येक दिन २०÷३० युनिट रगत खेर जाने गरेको स्वीकारे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।