काठमाडौँ । आँखालाई आकर्षक र सुन्दर बनाउन आजभोलि मानिस विभिन्न रङ्गका लेन्सको प्रयोग गर्न थालेका छन् । चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीबिना जथाभावी रूपमा लगाइने लेन्सले आँखाको ज्योति नै गुम्ने खतरा रहेको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बताउँछन् । शनिबार आयोजित एक कार्यक्रममा उनले चस्माको सट्टामा आजभोलि लेन्सको प्रयोग गर्नेक्रम बढेको र चस्मा लगाउनै नपर्ने आँखामा समेत सुन्दरताका लागिमात्र लेन्स लगाउने गरेको बताए ।

विभिन्न रङ्गका लेन्सको निरन्तर प्रयोगले आँखामा इन्फेक्सन हुने, रातो हुने, चिलाउने र पछि आँखामा गम्भीर समस्या हुने भएकाले लेन्सको निरन्तर प्रयोग नगर्नसमेत उनले सल्लाह दिए । तिलगङ्गा आँखा केन्द्रले गर्दै आइरहेको कार्यबारे जानकारी दिँदै डा रुइतले केन्द्रले नेपालका ७० जिल्लामा आँखा जाँच र उपचार सेवा पु¥याएको बताए । केन्द्रमा रहेको ‘आँखा बैंक’मा हालसम्म ६०० भन्दा बढी ‘क्रोनिया’ सङ्कलन भइसकेको उनले जानकारी दिए । नेपालमा मानिसको मृत्यु भएको आठ घन्टाभित्र आँखाको क्रोनिया निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । भिन्न सांस्कृतिक तथा धार्मिक संस्कार भएका व्यक्तिलाई आँखा दानका लागि पे्ररित गर्न निकै सकस भएको बताउँदै उनले यसका लागि केन्द्रले विभिन्न अस्पतालमा परामर्शदाता, घाटे वैद्य, चिकित्सकसँग सहकार्य गरेको उल्लेख गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।