काठमाडौं १३ फागुन
प्रभु बैंक लिमिटेडले १० बराबर ४ का दरले हकप्रद सेयर भर्न पाउने समय १० दिनका लागि थप गरेको छ ।
प्रभुको ४० प्रतिशत हकप्रद भर्न अब २३ गतेसम्म पाइने भएको छ । बैंकले ७ माघ देखि १३ फागुनसम्मको समय तोकेर २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
१०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले हकप्रद सेयर निष्कासनकाे बाटाे राेजेकाे हाे ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६३ करोड ४९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।