चैत्र २२ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधानसभामा सङ्घीयतावादीको उपस्थिति कम भएकाले सङ्घीयतासहितको संविधान आउनेमा आशङ्का व्यक्त गरेका छन्।
नेवाः स्वायत्त मङ्का सङ्घर्ष समितिले शु्क्रबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा पहिचानको मुद्दा र अबको बाटो’ विषयको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयतासहितको संविधान निर्माण गर्नका लागि संविधानसभाभित्र रहेका र बाहिर रहेका शक्तिका बीचमा एकताको जरुरत रहेकामा जोड दिएका हुन्।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले बृहत् राजनीतिक सम्मेलनबाट संविधानको अन्तर्वस्तुमा सहमति गरिए त्यो आफूहरूलाई मान्य हुने तर्क गरेका थिए ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो जनआन्दोलन र मधेस आन्दोलनको भावना विपरीत संविधान निर्माण भएस्वीकार्य नहुने धारणा राखेका थिए । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानसभामा परिवर्तनकामी शक्ति कमजोर हुँदा समस्या पैदा भएकाले सबै परिवर्तनका पक्षधर शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
नेवाः स्वायत्त मङ्का सङ्घर्ष समितिका अध्यक्ष मोहनबहादुर महर्जनको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घीयतासहितको संविधानका लागि सङ्घीयताका पक्षधरको एकता जरुरी रहेकामा जोड दिइएको थियो। रासस
Comments