चैत्र १७ । भारतका विभिन्न शैक्षिक संस्थामा बीएस्सी नर्सिङ पढेका नेपाली विद्यार्थीलाई भारतीय नर्सिङ काउन्सिलले रोजगारीमा बन्देज लगाएको छ ।
भारत पढ्न जानुअघि नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएका संस्थाका प्रतिनिधिका अनुसार नेपाली विद्यार्थीलाई काउन्सिलमा दर्ता गर्न नदिने निर्णय गरेर रोजगारीमा बन्देज लगाइएको अन्नपूर्ण दैनिकमा खबर छ । काउन्सिलमा दर्ता नभएपछि विद्यार्थीले इजाजतपत्र पाउँदैनन् । इजाजत नपाएका नेपाली विद्यार्थीलाई भारतीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा काम गर्न कानुनी अधिकार छैन् ।
नतिजा सार्वजनिक भएपछि नर्सिङ काउन्सिलमा इजाजतका लागि निवेदन दर्ता गर्न गए पनि काउन्सिलले अस्वीकार गरेपछि निराश भएर फर्केकी सुस्मिता पौडेलले भनिन् ‘हामीलाई भर्ना हुने समयमा केही जानकारी गराइन् । तर पढाइ पूरा भएपछि इजाजत लिने बेलामा पक्षपातपूर्ण निर्णय गरियो ।’ काउन्सिलले यसै वर्षदेखि लागू हुने गरी बनाएको यो नियमले सन् २००९ पछि भर्ना भएका विद्यार्थी प्रभावित हुनेछन् । त्यसपछि भर्नाभएका विद्यार्थीको पढाइ पूरा हुन ४ वर्ष लाग्छ । यो निर्णयबाट तत्काल आठ हजारको हाराहारीमा नेपाली विद्यार्थी मर्कामा पर्ने भारतमा नर्सिङ विषय पढाउन नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको सताक्षी एजुकेशन फाउन्डेसनका प्रमुख उमेश ढुंगेलले बताए ।
इकयानका अध्यक्ष राजेन्द्र बरालले नेपाली विद्यार्थीलाई भर्ना गर्ने, पढाउने, शुल्क लिने तर रोजगारी नदिने निर्णय अव्यवहारिक भएको बताए । भारतीय पक्षको यस्तो निर्णयप्रति नेपालीहरु भने रुष्ट भएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।