काठमाडौं १३ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता प्रक्रिया अघि बढीरहेको बेला दुई पार्टीबिच भने तिक्तता बढ्न सक्ने देखिएको छ । गत ९ वैशाख नेपाल कम्युनिष्ट स्थापना दिवस तथा लेनिन दिवसको दिन आयोजित कार्यक्रममा ब्यानर फ्यालिएको विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेपछि यसले एकतामै धुरमुर ल्याउन सक्ने समेत देखिएको छ ।
पञ्चायतविरुद्ध उफ्रनु र बनाएर राखिएको ब्यानर फालेर उत्रनु बिल्कुल फरक भएको भन्दै ब्यानर झिकेको विषयमा पाँच दिनपछि अाेलीले मुख खोलेका हुन् । कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारीलगायत सामान्तवाद र पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेर स्थापित भएको उल्लेख गदै ओलीले सानेपामा आयोजित पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति सभामा बोल्दै बिहीबार उनीहरुको फोटो हटाउन परेकोमा दुःख व्यक्त गरे ।
‘ यत्रो इतिहास बोकेका व्यक्तिहरु मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो राख्दा नहटाइई भएन । यस्ता केटाकेटीहरुलाई सम्झाउनु पर्छ । बनाएर ब्यानर फालेर उफ्रनु र पञ्चायतको विरुद्ध उफ्रनु फरक कुरा हो । विस्तारै बुझ्दै जानेछन् ।’ उनको भनाई थियो । उनले पु्ष्पलाल, मनमोहन र मदन भण्डारीलाई कसैले फाल्न खोज्छ भने कम्युनिष्ट आन्दोलन नै नरहने बताए ।
बैशाख ९ गते आयोजित एमाले र माओवादी पार्टी एकता संयोजन समितिको संयुक्त कार्यक्रममा मार्क्स र लेनिनको फोटो नराखी ब्यानर तयार गरिएको भन्दै माओवादी कार्यकर्ताले विरोध गरेका थिए । पछि दुवै पार्टीको ब्यानर राखेर कार्यक्रम गरिएको थियो ।