धनुषा, २६ जेठ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई शैक्षिक हब बनाउन नवस्थापित राजर्षि जनक विश्वविद्यालय सहायकसिद्ध हुने बताएका छन् ।

आज जनकपुरमा आयोजित ‘राजर्षि जनक विश्वविद्यालयको दृष्टिकोण, उद्देश्य र लक्ष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशलाई समृद्ध बनाउन नसक्ने उल्लेख गर्दै यस विश्वविद्यालयलाई प्राविधिक शिक्षामा केन्द्रित गर्नुपर्ने धारणा राखे ।
लामो प्रयासपछि स्थापित विश्वविद्यालयको स्थापनामा भूमिका निर्वाह गर्ने राजनीतिकर्मी र विद्वत् वर्गलाई धन्यवाद दिँदै मुख्यमन्त्री राउतले राजर्षि जनक विश्वविद्यालयलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए ।

विश्वविद्यालयका उपकुलपति प्रा भरत झाको अध्यक्षतामा भएको उक्त अन्तक्र्रिया कार्यक्रममा डा सदन भगतले विषय प्रवेश गराएका थिए भने विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा शैलेन्द्रलाभ कर्ण, नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरी, फोरम नेपालका धनुषा उपाध्यक्ष दिनेश यादव, विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र यादवसहितका वक्ताले विश्वविद्यालयको महत्वमाथि प्रकाश पारेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।