काठमाडौं २५ साउन । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृहमन्त्री रामबहादुर थापाको साथ पाएनन् ।
१० वर्षे जनयुद्धकालिन साथी रहेको अवस्थामा गृहमन्त्रीको साथ पाउने धेरैले अपेक्षा गरेको अवस्थामा गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिबाट उनले साथ नपाएको पुष्टि भएको हो । गृहमन्त्री रामबहादुर थापाले चन्दा आतंक मच्चाएकाले उनी पक्राउ परेको भन्दै अब कानुन बमोजिम नै कारबाही हुने समेत उल्लेख गरे ।

प्रहरी तालिम केन्द्र भरतपुरमा जुनिअर प्रहरी अधिकृतको दीक्षान्त समारोहमा पुगेका गृहमन्त्री थापाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विश्वकर्मा अपराधमा संलग्न भएकाले उनले कानुनी कारबाही भोग्नुपर्ने बताए।

विश्वकर्मालाई प्रहरीले मंगलबार राति काठमाडौंबाट जबरजस्त चन्दा असुलीको अभियोगमा पक्राउ गरेको थियो । अदालतबाट म्याद थपेर प्रहरीले विश्वकर्मामाथि थप अनुसन्धान गरिरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।