बालाराम खड्का
दाङ, ९ भदौ । लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल भएका छन् ।
उनले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । वर्षाको समयमा पनि उनको घरमा माछा लिन आउनेको सङ्ख्या बढ्दो छ ।
विगत आठ वर्षदेखि व्यावसायिकरुपमा माछापालन गर्दै आएका तामाङले अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्न सफल भएको बताउछन् । आफ्नो माछापालन व्यवसायमा उनले सात जनालाई रोजगारीसमेत दिएका छन् । सबै खर्च कटाएर यो व्यवसायबाट आफूले वार्षिक रु २० लाख बचत गर्ने गरेको माछापालक किसान तामाङको भनाई छ ।
“घरमा माछा लिन आएकाले पनि कसरी र कहिलेदेखि यो व्यवसाय शुरु गर्नुभयो भन्दै सोध्छन् उनले भने “यहाँ आएका जोसुकैले पनि एक पटक पोखरी खन्ने सपना देखेर फर्कन्छ ।” शुरुमा धान गहुँलगायत खाद्यान्न राम्रो उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उनलाई कम्ती गाह्रो भने नभएको होइन् । गाउँ समाज र घर परिवारबाट खेतीयोग्य जमीनलाई खनेर खाल्टो पार्दा बौलाउन थालिस् भन्नेहरु यतिखेर आफ्नो प्रशंसा गर्न थालेकोमा उनी खुसी व्यक्त गरे ।
करीब आठ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछापालन गरिएको छ । गत असार मसान्तसम्ममा २०० क्विन्टलभन्दा बढी माछा बिक्री भएको तामाङले बताए । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लगिने गरिन्छ ।
प्रतिकिलोग्राम रु २२० देखि रु २५० सम्मका दरले माछा बिक्री हुने गरेका छन् । शुरुका दिनमा माछा बिक्री गर्नका लागि छिटुवामा राखेर स्थानीय बजारमा लग्ने गर्दथें । तर अहिले त टाढाटाढाबाट घरमा नै माछा किन्न आउनेको भीड लाग्ने गर्दछ ।
यस व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउँदै उनले गाउँघरमा नै बसेर कम लागतमा मनग्ये आम्दानी गर्न सकिने भएकाले यो व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिए । मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै कमाउन सकिन्छ उहाँले भन्नुभयो । माछापालनमा लामो अनुभव बिताएका तामाङसँग माछापालनका बारेमा सरसल्लाह गर्न आउने पनि धेरै छन् ।







