काठमाडौं । सरकारले शिक्षक बन्नका लागि फस्ट डिभिजनलाई अनिवार्य बनाउने तयारी गरेको छ । उच्चस्तरीय शिक्षा आयोगले स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण वा न्यूनतम बी प्लस ग्रेड ल्याएका व्यक्तिलाई मात्र माध्यमिक तहको शिक्षक हुनुपर्ने मापदण्ड राख्न सरकारलाई सुझाव दिएको हो । शिक्षक छनोट प्रक्रियामा कडाइ गर्न सके अब्बल व्यक्ति मात्र शिक्षण पेसामा छिर्ने र उनीहरूबाट हुने शिक्षण सिकाइ प्रभावकारी हुने आयोगले निष्कर्ष निकालेको हो ।
अहिले एसईई परीक्षामा सबैभन्दा तल्लो ग्रेड ल्याएका व्यक्तिले शिक्षाशास्त्र संकाय पढ्ने गरेको र त्यही संकाय उत्तीर्ण गरेका व्यक्ति मात्र शिक्षक बन्दा विद्यालय शिक्षा धरासयी बनेको आरोप लाग्दै गरेको अवस्थामा अब फस्ट डिभिजन ल्याउनेलाई मात्र यो पेशा गर्न दिने तयारी भएको हो ।
आयोगले राम्रालाई शिक्षण पेसामा आकर्षित गराउन जुन संकायबाट भए पनि स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याएका व्यक्तिलाई एक महिने तालिम दिएर करारमा शिक्षक नियुक्त गर्न सकिने व्यवस्था गर्न पनि सुझाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री आफैं नै अध्यक्ष रहेको २५ सदस्यीय आयोगमा पूर्व शिक्षामन्त्री, शिक्षाविद्, विश्लेषक तथा शिक्षक संघसंगठनका प्रतिनिधि सदस्य छन् । शिक्षकलाई पाँच वर्षको अवधिमा सरुवा गरिने, शिक्षक कार्यरत तहका लागि आवश्यकभन्दा माथिल्लो शैक्षिक योग्यता र तालिम बढाए तलब सुविधा स्वतः बढ्ने, शिक्षक छान्दा लिखित र अन्तर्वार्ता प्रणाली मात्र अपनाइएकोमा कक्षा प्रदर्शनलाई पनि अनिवार्य बनाउनुपर्ने र स्थायी शिक्षक नियुक्तिका लागि एक वर्षभित्र लोकसेवा आयोगसरहको संवैधानिक आयोगका रूपमा स्वायत्त राष्ट्रिय शिक्षक सेवा आयोग गठन गर्नुपर्नेलगायत आयोगको सुझाव छ ।
शिक्षकलाई शिक्षण पेसामा मात्र प्रतिबद्ध बनाउन कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था समेत सुझाइएको छ ।
विद्यालय तहको संरचनाअनुसार कक्षा ९ देखि १२ सम्मको पढाइलाई माध्यमिक तह मानिन्छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० सम्म पढाइ हुने विद्यालय ९ हजार ४ सय ४७ र कक्षा ११ र १२ को समेत पढाइ भइरहेका विद्यालय ३ हजार ७ सय ८१ छन् । ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थी १४ लाख हारहारीमा छन् । यी विद्यार्थीलाई पढाउने शिक्षक ६४ हजार छन् ।
भिडियो हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।