काठमाडौं ७ फागुन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र गुटउपगुटले राम्रो भएको बताएका छन् । गुटउपगुटले राम्रो काम गर्न प्रेरित गर्ने उनको भनाई छ ।
गिरिजाप्रसाद कोइराला प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाले मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा ६९औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्र, शान्ति र विकासका लागि लोक नायक गिरिजाप्रसाद कोइरालको योगदान’ विषयक विचार गोष्ठीमा उनले यस्तो विचार राखेका हुन् ।
“कुनै पनि पार्टीमा गुट हुनु राम्रो कुरा हो, त्यसले सही खालको काम गर्न उत्प्रेरणा दिन्छ ।” उनले कार्यक्रममा, “तर राजनीतिमा सही संस्कार र नैतिकलाई जोगाएर राख्न सक्नुपर्छ ।”
कोइरालाले अहिलेको सरकार दुई तिहाई बहुमतका भएका कारण संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या भएको बताएका छन् ।
उनले शक्ति सन्तुलन प्रधानमन्त्रीको हातमा मात्रै राखेको र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई आफ्नो हातमा लिएको आरोप पनि लगाए ।






