काठमाडौं । प्रदेश नम्बर एकको नामकरण के गर्ने र केन्द्र कहाँ राख्ने भन्ने विषय चरम उत्कर्षमा पुगेको छ । नाम र केन्द्रको विषयले फेरि एक पटक प्रदेश एक तातेको छ भने आफू अनुकुल केन्द्र र नामकरण गर्न नेताहरु तातिएका छन् ।
तत्कालिन माओवादी पक्षधरले प्रदेश एकको नाम किरात राख्न माग गरिरहेका छन् । तर, प्रदेश नाम सगरमाथा वा कोसी राख्न उत्ति नै ठूलो आवाज उठिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता रामकुमार राई पासाङले सार्वजनिक रुपमा नै किरात नाम नछाड्ने घोषणा गरेका छन् । तर, नेकपाभित्रै किरात नाम राख्दा सर्वसम्मत् नहुने भन्दै विकल्पमा सगरमाथा राखे उचित हुने तर्क दरिलो छ । प्रदेश एकमा लिम्बु समुदायको पनि बाक्लो सहभागिता छ । उनीहरुले पनि लिम्बुवान राख्न लबिङ गरिरहेका छन् । क्षेत्री ब्राम्हण र तत्कालिन एमाले र कांग्रेसका नेताहरुले भने भुगोलको आधारमा नामकरण गरिनुपर्ने र सगरमाथा वा कोसी नामकरण गरिनुपर्ने लबिङ गरिरहेका छन् ।
यसअघि, दुई वटा प्रदेशले भुगोलको आधारमा आफ्नो प्रदेशको नामकरण गरेका थिए । प्रदेश ६ को नाम कर्णाली र प्रदेश चारको नाम गण्डकी राखिएको थियो । प्रदेश एक, प्रदेश २, प्रदेश ३, प्रदेश ५ र प्रदेश ७ ले नामकरण गर्न सकेका छैनन् ।
यता, प्रदेश एकको प्रदेश केन्द्र र नामको टुंगो लगाउन दुई पटक बसेको सत्तारुढ दल नेकपाको बैठकले नाममा सहमति जुटाउन सकेन । बैठकले प्रदेशको केन्द्र विराटनगर राख्ने निर्णय गरेको थियो भने प्रदेशसभाले स्थायी राजधानी विराटनगर तोकेको छ ।