काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई सांसदले स्विस बैंकको ५३ अर्बबारे के कारबाही हुँदैछ भनेर प्रश्न तेस्र्याएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्विस बैंकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राखे । मन्त्री खतिवडाले भने कसैको नाम मिलेकै आधारमा विदेशमा पैसा छ भन्न नसकिने बताए ।

विदेशी बैंकमा रहेका खाताको खोजी भइरहेको बताउँदै मन्त्री खतिवडाले राजश्व सचिवको संयोजकत्वमा समिति गठन गरी प्रहरी पनि परिचालन गरिएको जानकारी दिए । नेपाल ट्रष्टले खोजी गर्दा तत्कालीन राजपरिवारका सदस्यको सानातिना रकम फेला परेको पनि उनले उल्लेख गरे ।

अन्तर्राष्ट्रिय सूचना प्रणालीबाट त्यसरी पैसा राख्नेको सूची खोजी भइरहेकाले कानून कार्यान्वयन गराउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो ।

सांसद रामबहादुर विष्टले विदेशी बैंकमा राखिएका पैसा फिर्ता ल्याउने बारेमा राखेको जिज्ञासामा राजश्व प्रशासनमा मूलबाटै सुधार गर्न लागिएको बताए ।

सांसद प्रेम सुवालले कहाँ कहाँसम्म तलबाट उठाइएको पैसा पुग्छ भनी जिज्ञासा राखेका थिए । भ्रष्टाचारसम्बन्धी कानूनलाई संशोधन गरेर माथिबाटै अनियमितता अन्त्य गर्न सकिने मन्त्री खतिवडाको भनाइ थियो ।

सवारी साधन खरीद गर्दा त्यसको औचित्यका आधारमा सम्बन्धित मन्त्रालयबाट अघि बढेको प्रस्तावका आधारमा अर्थ मन्त्रालयले कारवाही अघि बढाउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।