काठमाडौं । पर्फमेन्स राम्रो दिन नसक्ने मन्त्रीहरु हटाउने लामो समयदेखिको चर्चा अब भने पूरा हुनेतर्फ बढेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हटाउने मन्त्रीको सूचीबारे सहमति जुटेको छ ।
तत्काल ६ जना मन्त्री हट्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री बिना मगर, कृषि मन्त्री बलदेब खनाल, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति बहादुर बस्नेत, उद्योग मन्त्री मात्रृका यादव हट्ने सूचीमा छन् ।
खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापालाई नहटाई उनीहरु मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले ८ मन्त्रीलाई बिदा दिन चाहेपनि धेरैलाई एकै पटक निकाल्दा गलत संदेश जाने भन्दै अहिलेलाई केहिको जिम्मेवार हेरफेर र केहीलाई विदा दिनुपर्ने अर्का अध्यक्ष पुष्प कमल दाहालको प्रस्तावमा ६ जना मन्त्रीलाई बर्खास्त गर्न लागेका हुन् ।
दशैं लगत्तै मन्त्री पुनर्गठनको तयारी रहेपनि चिनियाँ राष्ट्रपतिको भ्रमणका कारण अब भने मन्त्रीहरुको हेरफेर हुन लागेको हो । नयाँ मन्त्रीमा जनार्दन शर्मा, पम्फा भुसाल, देबेन्द्र पौडेल, प्रभु शाहको नाम पूर्व माओवादीबाट चर्चामा छ । त्यस्तै पूर्व एमालेतर्फ भिम रावल, सुरेन्द्र पाण्डे देखि महेश बस्नेत तथा शान्ता चौधरीको चर्चा छ ।