काठमाडौं । निक्कै लामो समयदेखि मन्त्रीमण्डल हेरफेर हुने विषयले अन्तिम रुप दिने पक्कापक्की जस्तै भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रीपरिषद बैठकमा मन्त्रीमण्डल हेरफेर हुन लागेको भन्दै चित्त नदुखाउन आग्रह गरेका छन् । उनले बुधबार मन्त्रीमण्डल हेरफेर गर्न लागेको भन्दै सार्वजनिक कार्यक्रम नराख्न समेत मन्त्रीहरुलाई भनेका थिए । यससँगै बुधबार मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको छ ।
को–को हट्दैछन्
मन्त्रीहरुको पर्फमेन्स र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिका आधारमा मन्त्रीमण्डल पुनर्गठन हुन लागेको हो जस अन्तर्गत तत्कालिन नेकपाबाट मन्त्री बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ हट्ने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा गोकर्ण विष्ट, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाय थापा हट्ने सूचीमा छन् । तत्कालिन नेकपा माओवादी केन्दतर्फबाट मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल हट्ने सूचीमा छन् । खानेपानी मन्त्री बिना मगर पनि हट्ने सूचीमा रहेपनि पछिल्लो पटक उनी नहट्ने सूचीमा पुगेको बताइन्छ ।
को आउँदैछन् नयाँ
थपिएर आउने नयाँ मन्त्रीहरुको अन्तिम टुंगो भने लागेको छैन । तर, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, महेश बस्नेतको नाम सबैभन्दा अग्रस्थानमा छ । हाल उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने चर्चा पनि छ । यसका साथै, जनार्दन शर्मा र प्रभू शाहको पनि चर्चा छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।