माघ ७ । चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ती सम्बन्धमा करोडौंको चलखेल भएको रहस्य खुलेको छ । चार मेडिकल कलेजलाई सम्बन्धन दिन १५ करोडका दरले ६० करोड रुपैयाँको चलखेल भएकाले चिकित्सकहरुले जति नै आन्दोलन गरेपनि सम्बन्धित पक्ष पछि नहेटेको पाइएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कांग्रेस स्वास्थ्य विभाग प्रमुख डा. शशांक कोइरालाले एक दैनिक पत्रिकामा अन्तरवार्ता दिंदै ६० करोडको चलखेल भएको भन्दै यसले मेडिकल क्षेत्रमा ठूलो माफियातन्त्र हावी भएको दाबी समेत गरेका छन् ।

अन्तरवार्तामा कोइरालाले मेडिकल कलेज भनेको सामान्य संस्था नभएको भन्दै सरकारले स्पष्ट मापदण्ड र आधार नबनाई कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै सम्बन्धन प्राप्त गर्नका लागि नै अहिलेको घटना घटिरहेकोतिर संकेत गरेका छन् ।
अहिले अनशनरत डा. केसीको स्वास्थ्य स्थिति जटिल बनेको भन्दै कोइरालाले उनलाई बचाउन सरकारले तत्काल डिन शर्मालाई राजीनामा दिन लगाउनुपर्ने समेत बताएका छन् ।
एउटा त शर्माको नियुक्तिमा प्रक्रियासमेत मिलेको छैन भनिएको छ कोइरालाले भनेका छन्– ‘चार मेडिकल कलेजलाई सम्बन्धन दिन तत्कालीन डिन प्रकाश सायमीलाई दबाब आएको र उहाँले दबाब खेप्न नसकेर राजीनामा दिएको भन्ने पनि सार्वजनिक भएको छ । । डा.र्माको पद जोगाउनुभन्दा पनि डा. केसीको प्राण बचाउनु मुख्य कुरा हो । डिन पद मानिसको ज्यानभन्दा ठूलो हुन सक्दैन ।’
शर्मालाई डिनमा नियुक्ती गरिएसँगै चिकित्सा क्षेत्र आन्दोलित भएको छ भने डा. केसी यसको विरुद्धमा १० दिनदेखि आमरण अनसनमा छन् । केसीको अवस्था पनि गम्भीर बन्दै गएको छ भने अस्पताल बन्दका कारण हजारौं बिरामी मर्कामा पर्दा समेत सरकार, राजनीतिक दल तथा नवनियुक्त डिन शशी शर्माले यो विषयलाई हलुका ढंगले लिएको पाइएको छ । जानकारहरु आर्थिक चलखेलकै कारण सरकार तथा राजनीतिक दल समेत चुप लागेर बसेको बताउँछन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।