“मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न” उसले भन्यो…

मलेसिया जाने युवासँग चर्को रकम लिदैं गर्दा वैदेशिक रोजगार विभागले रंगेहात फेला पारेको छ । विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले गुल्मी रेसुङ्गाका अनिल बि.क, सन्दीप बि.क र दीपक बहादुर सुनार तथा बराह न.पा. सुनसरीका सन्तोष बिष्टसँग रु ४ लाख ५० हजार लिंदै गरेको अवस्थामा लाइफ इन्टर्नेशनल ओभरसिजमा फेला पारेको बताए ।

हेरौं महानिर्देशकले सामाजिक सञ्जालमा दिएको जानकारी जस्ताको तस्तै:

“मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न”- उसले भन्यो ।

गुल्मी रेसुङ्गाका अनिल बि.क., सन्दीप बि.क. र दीपक बहादुर सुनार तथा बराह न.पा. सुनसरीका सन्तोष बिष्टले मलेशियाको Abiba Plastic Indutries Sdn Bhd मा रोजगारीमा जानका लागि इजाजतपत्र नं ७६० भएको महाराजगञ्ज काठमाडौंस्थित Life International Overseas Pvt Ltd का जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गरे। उनीहरुले १ लाख भित्रै पठाउन निकै अनुनय विनय गरे तर उक्त व्यक्तिले भने- “मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न”

ठीक डेढ महिना अघि नोभेम्बर ३ मा उक्त मलेशियन कम्पनीबाट नेपाल र मलेशियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्रि भिषा फ्रि टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेशिया पठाइँदै थियो । उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिएको देखियो । यस अघिको लटका मलेशिया पुगेहोलान्। यी ४ जनाहरुसँग रु ४ लाख ५० हजार लिंदै गरेको अवस्थमा रङ्गेहात विभागको टोलीले फेला पार्‍यो ।

रोचक त के छ भने यिनीहरुसँग पैसा उठाउने कार्य Life International Overseas Pvt Ltd मा भैरहेको थियो भने यिनीहरुको श्रम स्वीकृति अर्कै म्यानपावर Win Recruitment Pvt Ltd बाट निकालिएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।