काठमाडौं । यो तपाईले सोच्नु भयो भने पनि थाहा हुनेछ कि हामीले हाम्रो जीवनको एकतिहाइ काल सुतेर बिताउँछौं । अनि लाखौं सपनाहरु देखिरहेका हुन्छौं । धेरैजसो सपना त हामीलाई यादै हुँदैन । सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सन बिर्सिन्छ रे । हरेक मान्छेले दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ । तर आजका दिनसम्म सपनाको ठोस विज्ञान, सपनाको सही अर्थ लगाउने विधि भने पत्ता लागिसकेको छैन ।

हाम्रो मस्तिष्कको अगाडिको भाग (फ्रन्ट लोब) मा हुने न्युकर्टेक्स भन्ने भाग ६ सतहमा बाँडिएको हुन्छ । यसले नै थाहा पाउने, अनुभव गर्ने, शरीरका अंगलाई गति निर्देशन गर्ने, भाषा सिक्ने, अर्थ लाउने, विचार प्रवाह गर्ने आदि कुरामा मुख्य भूमिका खेल्छ । धेरै प्रकारका काम गर्ने भएकाले यसको सञ्जाल पनि एकदम जटिल हुन्छ । आरइएमको अवस्थामा ब्रेन स्टेमबाट आइरहने संकेतलाई यसले जोडेर कुनै परिचित दृश्य तथा संवेगमा बदली अर्थ लाउने कोसिस गरिरहेको हुन्छ । त्यो दृश्य पूर्ण कथा, आंशिक कथा, केही मात्र चित्र, राम्रो अनुभव, डरलाग्दो संवेग, जे पनि हुन सक्छ । यदि आरइएमकै अवस्थामा ब्युँझियो भने त्यो कुरा याद हुन्छ। साथै, हाम्रो सचेत मस्तिष्कले त्यसको अझै अर्थ खोज्दै जान्छ र लम्बिन्छ, नत्र सपनामै सिद्धिन्छ ।

सिग्मन्ड फ्राइडका अनुसार चेतन अवस्थामा पलाएका अनेकन तीव्र अभिलाषा र कुण्ठाको पूर्ति सपनामा हुन्छ । फ्राइडले कसैसँग शारीरिक लसपस वा सम्भोग नै गरेको सपना देख्नुको कारणमा चेतन अवस्थामा आफूले सम्भोगका लागि इच्छाएको व्यक्तिसँग पहुँच नपुग्नुलाई मान्छन् । सम्भोग गरेको सपना देखिनुबारे धेरै नै अध्ययन भएका छन् । यो अध्ययनमा सहभागी भएका झन्डै शतप्रतिशतले नै जीवनमा कैयौंपटक सम्भोगको सपना देखेको बताउँछन् । तर, आफ्ना नजिकका नातेदारसँग सम्भोग गरेको सपना नदेखेको बताउँछन् ।

गौतम उदय लेख्छन्, दर्शनशास्त्रीका अनुसार सपना देख्नु भनेको हामीले देख्ने र भोग्ने बाहेकको छुटै संसारको अनुभव हो । सपना नै तत्त्व ज्ञानको मूल स्रोत हो, यदि सपना नभएको भए यो संसार यति विकसित हुने थिएन । दार्शनिकहरुको यो तर्कलाई यसरी बुझ्न सकिन्छ, भूतमा विश्वास गर्नु भनेको परमेश्वरमा विश्वास गर्नु पनि हो । २०औं शताब्दीको अन्ततिर भने मस्तिष्क र शरीरको काम गर्ने तरिका र निद्राबीचको अन्तरसम्बन्ध स्थापित गरी सपना देखिनुको वैज्ञानिक व्याख्या गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।