काठमाडौं । ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन् । थला परेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन । औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र तरिका खोज्नतिर लागिन् । कैयौंपटक धामीकहाँ पुगेर झारफुक गराइन् । निको भएन ।

एकदिन उनलाई छिमेकी महिलाले चर्चमा गएर ध्यान गर्दा निको हुन्छ भन्दै त्यसै गर्न सुझाइन् । रोगले सताइरहेका बेला चर्च जाँदा निको हुन्छ भन्ने सुनेपछि उनी कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली नामको चर्चमा धाउन थालिन् । सीता शनिबार–शनिबार नियमित चर्च जान्थिन् ।

सीता चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँगै नजिकिन थाले । उनले अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, ‘यसलाई मेटाउन पमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले । पाप र रोग मेटाउन जोशीले सीतालाई आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने बताए । उनले आफू प्रार्थना बस्दा परमेश्वरले यस्तो विधि बताएको भन्दै आफूसँग शारीरिक सम्पर्क राखेको तीन महिनाभित्र रोग निको हुने भनि सीतालाई विश्वस्त पारे ।

पास्टर जोशीले सीतालाई चापागाउँ (ललितपुर) मोडमा रहेको एक गेष्ट हाउसको कोठामा बोलाएर शारीरिक सम्बन्ध राखे । त्यसपछि पनि दबाब र आशा देखाई पटक–पटक उनले शारीरिक सम्बन्ध राखे । तर, रोग निको भएन । रोग निको नभएपछि सीताले रोग निको बनाईदिने झुटो आश्वासन देखाएर जोशीले आफ्नो अस्मिता लुटेको भन्दै कारबाहीका लागि प्रहरी गुहारिन् । उजुरीपछि उनी पक्राउ परेका छन् । नागरिक दैनिकले खबर छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।