काठमाडौं । कैलालीको गोदावरी १० का रणबहादुर साउद चार वर्षअघि फेसबुकमा साथी बनेका एक विदेशीबाट ठगिएका छन् । उनलाई गत भदौमा रणबहादुर बिरामी पर्दा ५० हजार रुपैयाँ सहयोगसमेत पठाइदिएका ह्यारी लोगन नाम गरेका विदेशी व्यक्तिले ठगी गरेका हुन् ।
मिलेर संयुक्त व्यवसाय गर्ने समझदारी बनाएका ह्यारीले गत असोजमा रणबहादुरलाई भन्सार क्लियरेन्सका लागी १ हजार डलर पठाउन भने पछि रणबहादुरले ऋण खोजेर पठाए । प्रहरीलाई घुस खुवाउनुपर्छ भन्दै फेरी २ लाख ४ सय डलर मागे । धेरै लागतको सामान भएकाले बैंक ग्यारेन्टीका लागि फेरि रकम मागे । उनले फेरि बैंक क्लियरेन्सका २ हजार ६ सय डलर पठाइदिए ।
सामान भारतमा आइपुग्यो भनेर गत संसिरमा फोन आयो । ह्यारीले भन्सार कटाउन ३ लाख ७४ हजार भारु पठाउन लगाए । अब प्रहरीलाई मिलाउनुपर्छ भन्दै ह्यारीले रणबहादुरसँग पुनः २ हजार ६ सय डलर मागे ।
भारत पञ्जाव नेशनल बैंकस्थित फार्मिन हुसेनको खातामा ३ लाख ७४ हजार, मोहम्मद खालिकको खातामा ३ लाख ३४ हजार भारतीय रूपैयाँ, जब्बरको खातामा २ लाख २ सय डलर र उही खातामा २ हजार ६ सय डलर पठाएको उनले सुनाए । त्यसैगरी उनले शिल्पा नामकी महिलाको नाममा भारतको इन्धुसिन्ध बैंकमा रहेको खातामा सुरुमा १ हजारसहित २० लाख नेपाली ती विदेशी साथीलाई पठाएकाे बताएका छन् ।
तर ह्यारीले गत मंसिरमा सामान लिन भारतको इन्दिरा गान्धी विमानस्थलमा बोलाएर तीन घण्टा कुराउँदा पनि नआएपछि रणबहादुरले आफू ठगिएको थाह पाए । भन्छन्, ‘ आफूलाई बिरामी हुँदा सहयोग गरेको मान्छेले ठग्ला भनेर सोच्नै सकिनँ ।’ अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।