यी चार ठाउँमा राखिनेछ चीनबाट ल्याइएका नेपाली, १४ दिन अलग्गै राखिने

फाेटाेः फाइल

काठमाडौं । सरकारले चीनमा रहेका विद्यार्थी तथा नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरिरहेको छ । त्यहाँबाट आउने नेपालीलाई १४ दिन अलग्गै राखिनेछ भने विभिन्न चार स्थानमा राखिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न पनि निर्देशन दिएका छन् ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी र सम्बद्घ मन्त्रालयका सचिव, सुरक्षा अधिकारी उपस्थित थिए ।

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि चीनस्थित नेपाली दुतावासले स्वदेश फर्कन चाहने नेपालीका लागि फारम भराएको थियो । त्यस क्रममा १८० नेपाली विद्यार्थीले स्वदेश फर्कनका लागि फर्म भरेका छन् । चीनबाट आउँदा चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सङ्क्रमित यात्रुलाई उपत्यकाको ती चार स्थानको ‘आइसोलेशन वार्ड’मा राखी उपचार गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

संक्रमित भेटिए महामारीको खतरा
चीनबाट स्वदेश फर्कने नेपालीमा संक्रमण पनि सँगै भित्रिए त्यसले महामारीको रुप लिने खतरा छ । नेपालमा आवश्यक राम्रो तयारी छैन । संक्रमितको संख्या बढेमा कसरी उपचार गर्ने र कहाँ गर्ने भन्नेबारे पनि पर्याप्त तयारी गरेको भेटिएको छैन । चीनमा संक्रमित क्षेत्रमा यातायात सेवा समेत रोकेर क्षति कम गर्ने प्रयास भइरहेको छ । विश्वको शक्तिशाली राष्ट्रको एक नम्बर नजिक रहेको चीनले अहिले कोरोनाले निक्कै अप्ठ्यारो पारीरहेको छ । चीनलाई कोरानासँग जुध्न अप्ठ्यारो परिरहेको अवस्थामा नेपालमा पनि भित्रिए हजारौंको ज्यान जाने देखिन्छ । चीनमा रहेका नेपालीलाई हरेक दिन ज्वरो नाप्ने काम गरिन्छ । आशंका लागेमा १४ दिन अलग्गै राखिने गरेको छ । चीनमा हालसम्म पाँच सय भन्दा बढीको ज्यान गईसकेको छ भने विश्वभर २८ हजार भन्दा बढीलाई यो संक्रमण भइसकेको छ ।

चिनियाँको नेपालमा पनि उति नै सतर्कता
चिनियाँ अधिकारीहरुले चीनमा मात्र नभएर नेपालमा पनि उति नै सतकर्ता अपनाएका छन् । चिनियाँहरुले सञ्चालन गर्दै आएका भाषा कक्षाहरु अनिश्चितकालका लागि बन्द भएका छन् । चिनियाँ नागरिकहरु मास्क बिना हिडेका छैनन् । जहाँ जाँदा आउँदा पनि हात धुने काम अनिवार्य गरिरहेका छन् । नेपालीहरुमा भने त्यो सक्रियता र सतर्कता देखिएको छैन ।

मन्त्रालयमा बैठक, पदाधिकारी छैनन् गम्भीर
कोरोना भाइरस र चीनमा रहेका नेपालीका विषयमा स्वास्थ्य मन्त्रालयमा दिनहुँ बैठक बस्ने गरेको छ । तर, ठोस योजना र गाम्भीर्यता भने देखिएको छैन । सरकारी अधिकारीहरुको ढिलासुस्ती र आलटाल अहिले महामारीको रुप लिइरहेको कोरानाको विषयमा पनि देखिएको छ । सरकारी उदासिना, कम सक्रियताले नेपालमा जति बेला पनि महामारीको रुप लिने स्थिति बढ्दै गएको छ ।