घोराही । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उनको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् । त्यहाँ दीप प्रज्वलनको तयारी समेत गरिएको छ ।
जिल्ला अदालत काठमाण्डौंले महरा निर्दोष भएको फैसला गरेको छ । दाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको महराका मतदाता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिए ।
‘दाङको समग्र विकासका लागि कुन दल वा नेतामा विभाजित हुनुहुँदैन उहाँ विकास प्रेमी नेता हो, उहाँ निर्दोश भएको अदालतले प्रमाण दिइसकेको छ,’ प्रियासनले भने, ‘दाङको विकासका लागि सबै दलहरु एक हुनुपर्छ ।’
अर्का मतदाता वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशी विदेशी प्रतिकृयावादी तत्वहरुले षडयन्त्र रचेको बताए । महराले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुपर्ने रिजालको भनाई छ ।
महरा दाङको मात्र नभएर समग्र मुलुककै विकासमा योगदान दिने व्यक्तित्व भएको पत्रकार केशरमान विसीले बताउनुभयो । उहाँले महरालाई फसाउनेहरुको क्रमशः भण्डाफोर गरिदै जाने प्रतिकृया दिनुभयो ।
यसैबीच महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले आज बेलुकी ५ बजे घोराहीको तुलसीपुरचोकमा स्वस्फ्रूतरुपमा दीप प्रज्वलन गर्ने भएका छन् ।
दीप प्रज्वलन कार्यक्रमको संयोजन गरिरहनुभएका दीपेश पोख्रेलले सहभागि हुन समग्र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, युवा तथा सम्रग दाङवासी जनसमुदायलाई अनुरोध गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।