काठमाडौं । अर्थमन्त्री पदबाट हिजो मात्र राजीनामा दिएका डा. युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय सभाको दुई वर्षको कार्यकाल मंगलबार मात्र सकिए लगत्तै उनले राजीनामा दिएका थिए । तर संघीय संसदको सदस्य नै नहुँदा पनि उनी मन्त्रीमा नियुक्त भइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेकी हुन् ।

यसरी भए पुनः अर्थमन्त्री
खतिवडा प्रधानमन्त्रीका निकटस्थ र विश्वासपात्र मानिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली हस्पिटल भर्ना हुनु पूर्व नै उनलाई मन्त्री नियुक्त गर्ने सिफारिस राष्ट्रपतिलाई पठाएका थिए । त्यसैको आधारमा राष्ट्रपतिले मन्त्रीमा नियुक्त गरेकी हुन् । संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न सक्ने संवैधानिक प्रावधान अनुसार खतिवडालाई नियुक्त गरिएको हो । व्यवस्था अनुसार ६ महिनामा खतिवडाले कुनै पनि सदनको सदस्यता प्राप्त गर्नुपर्नेछ। सदस्य बन्न नसकेमा प्रतिनिधिसभाको हालको कार्यकाल अवधिभर मन्त्री बन्न पाउने छैनन् ।
‘आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के। पी। शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।