पार्टी निर्देशन नमाने ओलीलाई फिर्ता बोलाउने, नेपाललाई प्रधानमन्त्री बनाउने तयारी



काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग सल्लाह नै नगरी एकलौटी निर्णय गर्न थालेपछि उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाएर अर्का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेसम्मको तयारी भएको छ ।
पार्टी सचिवालय र स्थायी कमिटीमा ओली इतरको बहुमत रहेकाले बहुमतबाट ओलीलाई फिर्ता गर्नेसम्मको तयारी भएको हो । प्रधानमन्त्री ओलीले राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक नियुक्ति सम्बन्धी अध्यादेश पार्टीका नेताहरुसँग छलफल नै नगरी ल्याएकाे र त्यसले पार्टी र सरकारकाे छवि बिग्रिएकाे भन्दै पार्टीका अधिकांश नेताहरू ओलीप्रति रुष्ट छन् । सचिवालय बैठकमा उनी विरुद्ध स्पष्ट बहुमत पुगेको छ भने स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको राजीनामा माग गर्नेसम्मको तयारी भएको छ ।
सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । त्यस बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी छ ।
प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए । यसरी ९ सचिवालय सदस्य मध्ये ६ जनाको सहमति जुटिसकेको छ भने बुधबार मात्र नेकपाका २० जना स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाईसकेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ४४ सदस्यीय स्थायी समितिमा ३० नेता ओलीको विपक्षमा छन् । यसरी पार्टीले बहुमतको आधारबाट प्रधानमन्त्रीलाई ओलीलाई जति बेला पनि फिर्ता बोलाउने तथा राजीनामा गर्न लगाउने स्थिति रहेको छ । पार्टीभित्र विवाद बढ्दै गर्र्दा बहुमत सचिवालय सदस्यको भैसीपाटीमा भेला भएको थियो । त्यसले पनि पार्टीको निर्देशन विपरित ओली हिडेमा जस्तोसुकै निर्णय गर्न सक्ने सन्देश दिएको छ । यसअघि अध्यादेशको सामान्य समर्थनमा रहेका पार्टी उपाध्यक्ष बामदेव गौतमले आफ्नै घरमा भेला गराए भने महासचिव विष्णु पौडेल समेत भेलामा सहभागी भएर ओली विपरित ध्रुवमा आफू रहेको जनाउ दिइसकेका छन् ।
यता, आफूलाई प्रधानमन्त्रीबाट हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउने तयारी गरेपछि प्रधानमन्त्री ओलीले नेपाललाई फकाउने रणनीति अघि सारेका छन् । यसअघिको एक बैठकमा प्रचण्डसँग सामान्य कुरा गरेका ओलीले नेपालसँग निक्कै लामै राजनीतिक कुरा गरेर आफू नजिक हुन खोजेको सन्देश दिएका थिए । बिहीबार अध्यक्ष दाहालसंँग एक घण्टाभन्दा बढी समय छलफल गरेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग साढे दुई घण्टा कुराकानी गरेका थिए ।