विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो भने छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था रहेको भए कूल आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।

चालू आर्थिक वर्षको बजेटलाई नेपालको अर्थतन्त्रले उडान भर्ने गरी कार्यक्रम तय गरिएको थियो । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा विषम खालका समस्या देखापरेका छन् । उद्योग प्रतिष्ठान, विकास निर्माणका काम प्रायः ठप्प भएकाे छ । आर्थिक गतिविधि नहुँदा सरकारले अपेक्षा गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन नसक्ने अवस्था देखिएको हाे । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कका आधारमा हेर्ने हो भने चालू आर्थिक वर्षमा मात्रै २.२७ प्रतिशत मात्रै आर्थिक वृद्धि भएकाे पाइजन्छ ।

आर्थिक वर्ष २०७२/७३ मा गोरखा भूकम्पका कारण सबैभन्दा कम आर्थिक वृद्धि भएको पाइन्छ । भूकम्पले सम्पूर्ण गतिवधि रोकिँदा सो आवमा मात्रै ०.५९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले लिएका नीति तथा कार्यक्रमका कारण पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहँदै आएको थियाे । विभागका अनुसार आव २०७३/७४ मा ८.२२, आव २०७४/७५ मा ६.७० र आव २०७५/७६ मा कूल ६.९९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण आर्थिक वृद्धिमा ठूलो गिरावट आउने विभागको अध्ययनले बताएकाे छ । सरकारले चालू आर्थिक वर्षलाई अर्थतन्त्रमा छलाङ हान्ने वर्षका रूपमा हुँदै ठूला भौतिक निर्माणको कामलाई समेत अगाडि बढाएको थियो । गत चैतको पहिलो सातादेखि कोरोना कहरले समग्र क्षेत्रमा जटिलता पैदा भएको छ ।

कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै समग्र अर्थतन्त्रमा ठूलो समस्या देखिए पनि केही क्षेत्रमा सुधार देखिने विभागको तथ्याङ्कमा समेटिएको पाइजन्छ । कोरोनाको प्रभावले समग्र क्षेत्रमा असर परेको भए पनि नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको विभागले सार्वजनिक गरेको विवरणमा समेटिएको पाइन्छ। विभागका अनुसार नेपालीको एक वार्षिक औषत आम्दानी रु एक लाख २६ हजार १८ पुगेको बताए । प्रतिव्यक्ति आम्दानी एक हजार ८५ अमेरिकी डलर पुगेको छ । विभागकै अनुसार अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी रु एक लाख १७ हजार २६८ थियो अर्थात् अमेरिकी डलरमा एक हजार ३९ थियो । गत आबभन्दा चालू आवमा प्रतिव्यक्ति आम्दानी ३४ अमेरिकी डलरले वृद्धि हुने देखिएको पाइन्छ ।

अर्थतन्त्रको आकार बढ्यो
विभागका अनुसार चालू आवको फागुन मसान्तसम्म आर्थिक गतिविधिमा देखिएको सकारात्मक प्रभावका कारण देशको समग्र अर्थतन्त्रको आकार बढेको हाे । आव २०७५/७६ मा कूल रु ३४ खर्ब ५८ अर्बको अर्थतन्त्र रहेकोमा चालू आजमा त्यो बढेर रु ३७ खर्ब ६८ अर्ब पुगेको जानकारी नै छ ।

पछिल्ला तीन वर्षमा नियमितरूपमा ऊर्जाको उपलब्धता भएको र चालू आवमा पनि जलविद्युत्लगायत क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनका कारण पनि सकारात्मक परिवर्तन देखिने विभागले बताएकाे हाे । विद्युत्, ग्यास र पानी क्षेत्रको कूल योगदानमा २८.७५ प्रतिशत रहने तथ्याङ्कमा समावेश रहेकाे छ । कूल गार्हस्थ उत्पादन (जिडिपी) मा विद्युत्, ग्यास (ऊर्जा) र पानीको योगदान १.४१ प्रतिशत हुने अनुमान गरिएको हाे । यस्तै कृषि तथा वन क्षेत्रमा २.४८ प्रतिशत मत्स्यपालन ७.१७, उत्पादन २.२७, रहँदा खानी क्षेत्रमा ०.६९ निर्माण ०.३१, होटल तथा सेवा क्षेत्र १६.३० र यातायात २.४५ प्रतिशतले नकारात्मक हुने देखाएको पाइन्छ ।

आव २०७६÷७७ को ‘राष्ट्रिय लेखा तथ्याङ्क’ मा कूल ग्राहस्थ उत्पादनको गणनामा समावेश भएका कूल १५ क्षेत्रमध्ये पाँच वटा क्षेत्रमा आर्थिक गतिविधि गत वर्षको तुलनामा नकारात्मक अर्थात् ऋणात्मक हुने देखाइएकाे हाे। निर्माण, यातायात र सञ्चार, उद्योग, होटल तथा रेस्टुरेन्ट र खानी तथा उत्खनन क्षेत्र नकारात्मक रहने छन्। सो क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा चालू आवमा कूल दुई दशमलब ७० प्रतिशत हिस्सा रहने छ ।

कोरोनाका कारण होटल व्यवसायमा नराम्रो असर परेको जानकारि नै छ । पर्यटक आवागमन बढाउने भनेर सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का सबै कार्यक्रम बन्द भएका छन् । पर्यटक आवागमनमा झण्डै १४ प्रतिशतले गिरावट आएको पाइन्छ । आन्तरिक पर्यटकसमेत कोरोनाका कारणले घुम्न पाएका भने छैनन् । सोही कारण होटल तथा सेवा क्षेत्रमा समेत नकारात्मक असर परेको हाे । हवाईसेवा प्रदायकका जहाज ग्राउण्डेड भएका छन् ।

यस्तै विभागका अनुसार चालू मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ५० खर्ब ९२ अर्ब रहेको छ । चालू मूल्यअनुसार कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु १७ खर्ब ४३ अर्ब रहेको पाइन्छ । चालू मूल्यअनुसार कूल ग्राहस्थ उत्पादनमा उपभोक्ताको मूल्यमा रु ३२ खर्ब नौ अर्ब रहेको पाइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।