आम नागरिकका लागि सार्वजनिक सूचना छ-यदि कोही विदेशबाट आउनु भएको छ वा त्यसरी आएका व्यक्तिसँगको सम्पर्कमा हुनुहुन्छ भने कम्तिमा तीन हप्ता क्वारेन्टाइनमा बसौं । मुलुकको संवेदनशील संवैधानिक आयोगकै माननीय सदस्यले पनि उल्लेखित सूचनाअनुसार चल्नुपर्ने हो । तर,जान्ने-बुझ्ने मानिसहरू नै कोरोना संक्रमणप्रति सचेत छैनन् र भ्रम निवारण गर्न तत्पर छैनन् भन्नलाई यही यौटा सन्दर्भ काफी छ ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीको प्रसंग हो यो । नेपाल र भारतमा अत्यधिक कोरोना संक्रमित फेला पर्ने स्रोतका रुपमा रहेको छ,दिल्लीस्थित तबलिगी मस्जिद । मोहनामाथि त्यहाँकै जमातीमध्येकी एक अनुयायी भएको आरोप छ । स्मरण रहोस्,बिश्वको १ सय असी देशमा झण्डै पाँच करोड जमाती (मुस्लिम धर्म प्रचारक) फैलिएका छन् !
उहाँले चैत ११ गते नेपालमा लकडाउन शुरु हुनुअघि नै बर्दियाका लागि काज माग्नुभएको थियो,अध्यक्ष अनुपराज शर्मासँग । तर,अनुप आफैं बिरामी भएर बेडरेष्ट हुनुका कारण वरिष्ठ सदस्यका रुपमा सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्तीमा काज दिनुपर्ने जिम्मेवारी आयो । काठमाडौंबाहिर निस्कने भ्रमण आदेश स्वीकृत गर्न कार्यालय प्रमुख नै चाहिन्छ । तर,प्रमुख अनुप घरमा हुनुहुन्थ्यो । मोहनाले वरिष्ठ सदस्य प्रकाशलाई भन्नुभयो,”बर्दियाका सिडिओ साबले आउनसक्नु हुन्छ भनिसक्नु भयो ।’
यसरी लकडाउनको वीच बर्दियाका लागि हिंड्नुभएकी मोहना त्यहाँ छिरेको सूचना छैन । बरु,नेपालगन्ज पुगेर,केही दिन सरकारी गाडीसहित घर र माइती पसेर स्थलमार्गबाटै काठमाडौं फर्किएको सरकारी रेकर्ड छ । यता,साउती चल्न थाल्यो, ‘मान्यज्यू लखनउबाट फर्किनुभएको रे !’ तर,यस्तो सोधनीमा उहाँ नाजवाफ हुनुभयो ।
यसबीच फोनमा कुरा भयो,अध्यक्ष अनुपराज शर्मासँग । अनुपले तीन महिनाका लागि ल्याएको औषधी,जुन नेपालमा पाइन्न,सकिएको थियो । यसबेलासम्म भारतमा लकडाउन शुरु भइसकेको । यसकारण व्यक्तिगत सम्बन्धका आधारमा दिल्लीस्थित नेपाली दूतावासमा सैनिक सहचारी रहेका वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीका भाइ (जर्नेल इश्वरकान्त) मार्फत अनुपले औषधी मगाउनुभयो । त्यो औषधी डिप्लोम्याटिक कुरियरबाट नौतनवा हुँदै मध्यराती डेढ बजे काठमाण्डौ आयो ।
यो कुरा मोहनालाई सुनाउँदा उहाँको मुखबाट फ्याट्ट निस्कियो, ‘मलाई भनेको भए मैं ल्याइदिई हाल्थे नि !’ अर्थात्,मोहना दिल्ली पुगेको भनी कानेखुसी गर्नेहरुलाई यति भएपछि अरु के निहुँ चाहियो ! संयोगबस- अहिले नेपालगन्जमा आगोसरि फैलिएको कोरोना फैलिएको ठाउँ मोहनाको माइती डिएसपी रोड (अन्सारी टोल) मै पर्दछ,अदालत भवनपछाडि । मानवाधिकार आयोगमा उहाँ लखनउ वा दिल्ली गएकोबारे प्रश्न गर्दा प्रष्ट जवाफ नआएको बताइन्छ ।
उहाँको पारिवारिक अवस्था कस्तो छ भने,फर्निचर व्यापारी बिमार बुबाको उपचारमा आफैं संलग्न हुनुपर्ने । किनभने,एक्ला छोरा,मोहनाका भाइले लागू औषध मुद्दामा काठमाण्डौको सेन्ट्रल जेलमा हुँदै ०७२ को महाभूकम्पताका पर्खाल भत्किएर,त्यसमा च्यापिएर अरु नौ जना कैदीसङ्गै ज्यान गुमाए । यसपछि परिवारको सचेत सदस्यका नाताले सबै रेखदेख मोहनाले गर्दै आउनुभएको छ ।
उपचारक्रममा त्यही समयको आसपास दिल्ली पुगेको खासखुस्का वीच डक्टर छोरीकी आमा मोहना मानवाधिकार आयोग गइरहनु भएको छ । तर,सहकर्मी त्रस्त छन् । उहाँको अघिल्तिर कोही पर्दैनन् । यसरी मानवाधिकार आयोगमा बेलैमा स्वास्थ्य परीक्षण नगरिदा त्यहाँका सारा कर्मचारीसङ्गै स्वयं सदस्य मोहनाको निर्वाध कर्तव्य पालना गर्न पाउने मानवअधिकार हनन भैरहेको अवस्था छ ! जनआस्था साप्ताहिकबाट साभार