काठमाडौं ३१ वैशाख । निक्कै चर्चा विवादकाे केन्द्रमा रहेको आज (बुधबार) का लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेको भन्दै बैठक स्थगित गरिएको छ ।
यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउन चाहेका थिएनन् । विवादित विषयमा छलफल नगर्ने सर्तमा बैठक बोलाउन तयार भएपनि आज पुनः अचानक बैठक स्थगित भएको हो ।
सरकारले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको छ । विवाद बढेपछि अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल निकट २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए ।