हेलोखबर समाचारदाता
काठमाडौं । काठमाडाैंमा रहेकाे भारतीय स्कुल (भारतकाे पाठ्यपुस्तक र भारतकै लगानीमा नेपालमा सञ्चालित) मोर्डन इन्डियन स्कुलले सरकारको निर्देशनलाई नै धज्जी उडाउँदै अभिभावकलाई शुल्क बुझाउन ताकेता गरेको छ । अनलाइन ट्युशन फी काे नाममा मोर्डन इन्डियन स्कुलले अभिभावकहरुलाई शुल्क बुझाउन ताकेता गरिरहेको हो ।

प्रिन्सिपल राजु पिटरले अभिभावकलाई इमेलमार्फत शुल्क बुझाउन ताकेता गरिरहेको पाइएको छ । इमेलमा उल्लेख भए अनुसार प्रिन्सिपलले यसअघि पनि भिडियो सन्देशमार्फत शुल्क बुझाउन निर्देशन गरेको पाइएको छ । स्कुलले अभिभावकलाई पठाएको हेलोखबरलाई प्राप्त ताकेता अनुसार नबिल बैंकको खातामा पैसा डिपोटिज गर्न निर्देशन गरिएको छ भने खल्तीबाट शुल्क बुझाउन सकिने पनि उल्लेख छ ।

विद्यालयले मोडर्न इन्डियन स्कुलको नबिल बैंककाे खाता ०८०१०११००७५०१ नम्बरमा शुल्क बुझाउन निर्देशन गरिएको छ । विद्यालयले अनलाइन ट्युशन कक्षाको नाममा २ महिनाको शुल्क बुझाउन ताकेता गरिरहेको हो ।

यसअघि, सरकारले कुनै पनि विद्यालयलाई कुनै पनि तहको भर्ना नगर्न र अनलाइन कक्षाको नाममा शुल्क नलिन निर्देशन जारी गरेको थियो । तर, मोडर्न स्कुलले भने नेपाल सरकारको निर्देशनलाई नै चुनौती दिँदै शुल्क बुझाउन ताकेका गरिरहेको हो । मोडर्न इन्डियन स्कुलले यसअघि पनि सरकारको नीति निर्देशिकाको उल्लंघन गर्दै आएको छ । मोडर्न इन्डियन स्कुल भारतीय स्कुल भएपनि शिक्षा मन्त्रालयमा दर्ता भएको छ । सरकारले यसअघि विदेशीले खोलिएका स्कुल दर्ता गर्न निर्देशन जारी गरेको थियो ।

एक अभिभावकका अनुसार विद्यालयले लकडाउनमा टाइप गरेर पठाएर होमवर्क दिए जस्तै क्रियाकलाप गर्न लगाउने गरेको छ । त्यसका लागि अभिभावकले बसेर ती क्रियाकलाप गराउँदै आएका छन् । ‘सबै हामी आफैं बसेर पढाइरहेका छौं, स्कुलले २ महिनाको फि बुझाउन भनेको छ, यतिबेला कसरी बुझाउने होला, सरकारले छानबिन गरी गरिदिन पर्यो ।’ ती अभिभावकले हेलोखबरसँग भने ।

विद्यालयले सरकारको निर्देशन विपरित भर्ना समेत गरेको पाइएको छ । विद्यालयको बेवसाइटको सुरुमा नै विद्यालयले फर्म खुल्ला गरेको सूचना राखेको छ ।

यसअघि, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियाे । लगत्तै, शिक्षा मन्त्रालयले पनि अर्को निर्णय नहुँदासम्म विद्यार्थी भर्ना, पठन पाठन, परीक्षा र अनलाइन कक्षा बापतकाे कुनै शुल्क नउठाउन निर्देशन दिइसकेको छ ।

सञ्चालकहरूको संगठनद्धारा ताकतो नगर्न निर्देशन

निजी विद्यालय सञ्चालकहरूको संगठनले लकडाउनका बेला शुल्क नउठाउन निर्देशन दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) दुवैले यस्तो निर्देशन दिएका हुन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले लकडाउनका बेला कुनै पनि विद्यालयले शुल्क नउठाउन आग्रह गरेका छन् ।

एन-प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कुनै पनि विद्यालयलाई संकटको यो घडीमा शुल्क तिर्न ताकेता नगर्न अनुरोध गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।