काठमाडौँ — विद्युत् खपत कम भएर रातको समयमा दैनिक एक करोड मूल्य बराबरको विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निजी र प्राधिकरणका विद्युत् आयोजनाले अहिले निरन्तर ९ सय मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् ।

तर रातको समयमा भने विद्युत् माग ७ देखि ८ सयको हाराहारीमा मात्रै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘पानी परेका बेला रातको समयमा झन् विद्युत् माग घटेर ४ सय मेगावाट हाराहारीमा झर्छ,’ उनले भने, ‘रातको समयमा औसत १ करोड बराबरको विद्युत् खेर गइरहेको छ ।’

अहिले निजी क्षेत्रका आयोजनाबाट ४ सय ५० मेगावाट र कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन नगर्दा पनि प्राधिकरणका आयोजनाबाट पनि ४ सय ५० मेगावाट विद्युत् चौबीसै घण्टा उत्पादन भइरहेको छ । निजी क्षेत्रको विद्युत् आयोजनाको जडित क्षमता ७ सय मेगावाट भए पनि पानी कम भएका कारण अहिले ४ सय ५० मेगावाट हाराहारीमा मात्रै उत्पादन भएको घिसिङले बताए । ‘असार १५ देखि मसान्तसम्म निजी क्षेत्रका आयोजनाबाट कम्तीमा पनि ६ सयदेखि साढे ६ सय मेगावाट विद्युत् उत्पादन हुन्छ,’ उनले भने, ‘साउनतिर खेर जाने विद्युत्को परिणाम बढ्नेछ ।’

साउनमा सबै गरी ११ सय मेगावाट विद्युत् चौबीसै घण्टा उत्पादन हुने घिसिङले जानकारी दिए । अहिले साँझमा विद्युत्को पिक डिमान्ड ११ सय मेगावाट हाराहारीमा मात्रै छ । लकडाउनका कारण काम रोकिएका केही आयोजना उत्पादनको अन्तिम अवस्थामा रहेको र लकडाउन खुल्नासाथ सय मेगावाट विद्युत् प्रणालीमा थपिने उनले बताए । ‘मागको स्थिति यही रह्यो भने दिनमै ५–६ करोड बराबरको विद्युत् खेर जाने अवस्था हुन सक्छ,’ उनले भने, ‘डिमान्ड बढाउन उपायको खोजीमा छौं ।’

बढी भएको विद्युत् बिहारतर्फ निर्यातका लागि पहल भइरहेको उनले जानकारी दिए । प्राधिकरणले माग कम हुने समयमा विद्युत् खपत बढाउन चार्जिङ स्टेसन निर्माण प्रक्रिया पनि अघि बढाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।