काठमाडौँ । गत चैत १० गते नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ तोक्यो । लगत्तै सरकारले चैत ११ देखि लकडाउन गर्‍यो । महासंघले पनि सुनको दरभाउ निर्धारण रोक्यो । जिल्लाका व्यवसायीले दरभाउको माग गरेपछि सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायी महासंघलाई पुन: मूल्य तोक्न आग्रह गर्‍यो ।

दरभाउ तोक्न आनाकानी गरेपछि आभूषण महासंघले जेठ १४ मा सुनको भाउ प्रतितोला ८६ हजार १ सय निर्धारण गर्‍यो । त्यसपछि आभूषण महासंघले निरन्तर मूल्य तोकिरहेको छ । गत आइतबार (जेठ २५ गते) सुनचाँदी व्यवसायी महासंघले पनि मूल्य तोक्यो । तर यी दुई संस्थाले तोकेको मूल्य फरकफरक छ । प्रतितोला एक सय रुपैयाँ फरक परेपछि उपभोक्तामा अन्योल थपिएको छ ।

मूल्य फरकबारे जानकार व्यवसायीले सच्याउने काम भने गरेका छैनन् । दुवै महासंघले आफूले प्रकाशन गरेको मूल्य उचित भएको दाबी गर्छन् । ‘राष्ट्र बंैकको निर्देशिकाअनुसार अन्तर्राष्ट्रिय सिस्टममै मूल्य निर्धारण गरेका छौं । बैंकको नाफा, होल्डिङ चार्ज, बिमालगायत जोडेर दरभाउ निर्धारण गरेका छौं । अर्काे महासंघले एक सय रुपैयाँ घटाएर तोकेको छ,’ रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, ‘मूल्य प्रणाली सिस्टममा हुनुपर्छ । तर एकलौटी रूपमा बजारमा प्रभाव पार्ने हिसाब देखियो । यो विवादित विषय हो ।’

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले भने मूल्य तोक्ने जिम्मा आफू नेतृत्वको महासंघको भएको दाबी गरे । ‘विगतमा हामीले नै तोक्दै आएका थियौं, विगतकै प्रणालीअनुसार तोक्ने जिम्मा हाम्रै हो,’ उनले भने, ‘अहिले बीचमा अर्को महासंघले पनि मूल्य तोक्यो ।’ एकदुई घण्टा तलमाथि हुँदा मूल्य पनि सोहीअनुसार फरक पर्ने उनले बताए । सबैको सहमतिमा दरभाउ मिलाइने उनको भनाइ छ । मूल्य फरकफरक हुँदा उपभोक्ता झुक्किने सम्भावना उच्च स्वयं व्यवसायी बताउँछन् ।

महासंघले सार्वजनिक गर्ने सुनको विवरणअनुसार बिहीबार र शुक्रबार सुनचाँदी व्यवसायी महासंघले प्रतितोला ८९ हजार ६ सय, बुधबार ८८ हजार ६ सय, मंगलबार ८७ हजार ७ सय, सोमबार ८७ हजार ५ सय र आइतबार ८७ हजार ४ सय मूल्य तोकेको थियो । तर आभूषण महासंघले बिहीबार र शुक्रबार प्रतितोला ८९ हजार ७ सय, बुधबार ८८ हजार ७ सय, मंगलबार ८७ हजार ७ सय, सोमबार ८७ हजार ६ सय र आइतबार ८७ हजार ५ सय निर्धारण गरेको थियो ।

‘दररेट नै फरक हुँदा उपभोक्ता र व्यवसायी स्वयं झुक्किन्छन्,’ अध्यक्ष सुनारले भने, ‘फरक मूल्यबारेको अन्योल छिट्टै मिलाउँछौं ।’ सुनचाँदी व्यवसायी महासंघका दररेट निर्धारण समितिका सयोजक तेजरत्न शाक्य हुन् । महासंघका पूर्वअध्यक्षसमेत रहेका उनले पनि भाउ नमिलेको स्विकारे । सरकारी कार्यालय र राष्ट्र बैंकको काममा सुनचाँदी व्यवसायी महासंघकै मूल्यलाई मान्यता दिइएकाले अर्को महासंघको मान्यता नहुने उनको दाबी छ ।

‘अर्को महासंघको सिस्टम नै छैन । अद्यावधिक प्रणाली छैन,’ शाक्यले भने, ‘मूल्य तोक्न अन्तर्राष्ट्रिय बजारबारे दैनिक अध्ययन गर्नुपर्छ । अहिलेको काम उपलब्धिपूर्ण भएन । जिम्मेवार पनि देखिएन ।’

आभूषण महासंघका अध्यक्ष महर्जन पनि आफूहरूले पारदर्शी रूपमा मूल्य तोकेको दाबी गर्छन् । आभूषणअन्तर्गत रहेको मूल्य निर्धारण समितिले बिहान साढे १० बजेभित्र मूल्य तोक्ने उनले बताए । ‘अर्को महासंघले कसरी मूल्य निर्धारण गर्छ, आएको छैन । कुन समयको मूल्य राख्छ, त्यो पनि थाहा छैन,’ महर्जनले भने, ‘अब सही प्रणालीमा आउनुपर्छ । अन्तर्राष्ट्रिय भाउ हेर्नेबित्तिकै यहाँका उपभोक्तालाई पनि भाउ थाहा हुनुपर्छ । सबै पारदर्शी र यथार्थ हुनुपर्छ । अब भाउ निरन्तर राख्छौं ।’ मूल्यका सन्दर्भमा बैंकहरूसँग समन्वय एवं सहकार्य गरिरहेको उनको भनाइ छ ।

सुन आयातको दैनिक आयात कोटा ५० प्रतिशतले कटौती भएको छ । यसअघि सुनको दैनिक आयात कोटा २० किलो थियो । वाणिज्य बैंकले मात्रै सुन आयात गर्न पाउने नियम छ । आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघलगायतको सिफारिसमा अन्य व्यवसायीले खरिद गर्न पाउँछन् । व्यवसायीका अनुसार दरभाउमा देखिएको अस्थिरताले सुनको माग छैन । चाडबाड र सिजनमा भने यसको माग दोब्बर पुग्ने व्यवसायीहरूको दाबी रहेकाे कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।