काठमाडौं । पछिल्लो दिनमा प्रधानमन्त्री निवास बालुवाटार अगाडी र काठमाडौंको माइतीघर लगायत देशका विभिन्न ठाउँमा सरकार विरुद्ध भइरहेको विरोध प्रदर्शनको पछाडी नेपाली कांग्रेसले सुनियोजित रुपमा आफ्ना कार्यकर्ता उतारोको खुलासा भएको छ।
नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई फोन गरेर सरकारको विरोध प्रदर्शनमा अनिवार्य रुपमा उपस्थित हुन उर्दी जारी गरेको पाइएको हो । कांग्रेसका विभिन्न नेता तथा जनवर्गीय संघ संगठनहरुले आफू मातहतका कार्यकर्तालाई फोन गरेर विरोध प्रदर्शनमा उत्रन निर्देशन दिइरहेका छन्।
कांग्रेसले यसरी फोन गर्दा पार्टीको झण्डा प्रयोग नगर्न र पार्टीको नाम नलिई सरकारको चर्को विरोध गर्न निर्देशन दिने गरेको छ । काठमाडौंमा भेटिएका एक जना सक्रिय कांग्रेस कार्यकर्ताले आफूलाई पनि फोन गरेर विरोधमा सहभागी हुन भनेको हेलोखबर डटकमसँग बताए । ‘मलाई पनि फोन आएको थियो, तर कोरोनाको बेला कसरी जानु र, मैले त म गाउँमा छु भनेर ढाटेर गइन ।’ उनले हेलोखबर डटकमसँग भने।
आन्दोलनकै क्रममा बालुवाटार अगाडी भेटिएका एक जना प्रदर्शनकारीले आफू नेविसंघमा आवद्ध भएको र सरकारले अति गरेकाले आन्दोलनमा उत्रिएको बताए । दाईहरु (कांग्रेस नेताहरु) ले फोन गरेर बोलाएकाले आफूले आन्दोलनबारे जानकारी पाएर आएको बताए ।
सरकारको विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्वाईफ्रेन्डको ब्रेक अप सहन सकिन्छ, यो सरकारको अति सहिन्न’ भन्ने जस्ता उत्तेजक नारा लगाउने तथा प्लेकार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।
उनीहरुले अहिले मुख्य नारा सरकारले कोरोना नियन्त्रणका लागि गरेको १० अर्ब खर्चको हिसाब मागिरहेका छन् भने पिसिआरको दायरा बढाउन भनिरहेका छन् । जुन दिन नेपाली कांग्रेसको बैठक बसेर सरकारको विरोध गर्ने नीति अबलम्बन भयो अनि त्यसको दोस्रो दिन कांग्रेस सांसद गगन थापाले संसदमा अब कांग्रेस सुतेर नबस्ने भन्दै १० अर्बको हिसाब मागे त्यहीँ दिनदेखि सडकमा आन्दोलन सुरु भएको हो ।
कांग्रेसले आफ्ना कार्यकर्ता सडकमा उतारेर आन्दोलनको जिम्मा नलिई सरकारको विरोध प्रदर्शन गरीरहँदा कोरोनाको संक्रमण फैलिने खत्रा झनै बढेर गएको छ । सरकारको विरोध गर्नेहरुले भौतिक दुरी कायम गर्ने गरेका छैनन् भने मास्क लगाउने बाहेक अन्य कुनै सतर्कता अपनाएको पाइएको छैन । आन्दोलनकै कारण लाखौंमा कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावन बढ्दै गएको छ ।
सत्तारुढ दल नेकपाका नेताहरुले पनि कांग्रेसले कोरोनाको बेला सुनियोजित रुपमा आफ्ना कार्यकर्ता सडकमा उतारेको बताएका छन् । उनीहरुले कांग्रेसले सरकारको बदनाम गराउन विरोध गर्ने क्रममा कार्यकर्तालाई भिडभाडमा उतारेर कोरोनाको जोखिम बढाइरहेको र यसले राष्ट्रलाई झन् ठुलो जोखिम पार्ने खतरा देखिएका बताएका छन् ।
कांग्रेसले भित्रभित्रै सुनियोजित रुपमा कार्यकर्ता परिचालन गरेको आन्दोलनमा विदेशीको संलग्नता समेत भएको पाइएको छ । विरोध प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
वर्तमान सरकारले भारतले अतिक्रमण गरेको नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा पास गरेपछि भारतले पनि आन्दोलनमा भित्रभित्रै सहयोग गरिरहेको आरोप छ भने एमसीसी पास नभएपछि अमेरिकीहरुले पनि सरकारको विरोध गर्न सहयोग गरिरहेको कतिपयले आरोप लगाएका छन् ।
याे पनि पढ्नुहाेस्
कहाँबाट ओर्लिए बालुवाटार अगाडी यत्रा सयाैं मान्छेहरु ?
अधिवक्ता खरेलको दाबी– ‘एमसीसी पास गराउन अमेरिकी दूतावासको प्रायोजनमा देशभर युवाहरूको आन्दोलन’