काठमाडौं । झापामा एक जना वृद्धको दाह संस्कारका लागि शव उठाउन गाउँलेले ६ घण्टासम्म रोकेका छन् । मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।

गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए। घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए। मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए। उनलाई अस्पतालले शुक्रबार घर फर्काएको थियो। उनको सोमबार बिहान ८ बजे घरमै निधन भएको हो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।