काठमाडौंका कोरोना संक्रमितः एक जना तीनकुनेकी महिला, अर्का बूढानीलकण्ठका

फाइल तस्बीर

काठमाडौं । काठमाडौंमा बिहीबार भेटिएका दुई जना कोरोना संक्रमितको ठेगाना खुलेको छ । जसमध्ये एक जना काठमाडौंको तीनकुनेकी ३४ वर्षीया महिला रहेको पाइएको छ ।
उनी असार १ मा उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल गएकी थिइन्। त्यहाँ शंका लागेपछि उनको नमुना लिएर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले उनको ट्राभल हिस्ट्री नभएको जनाएको छ । उनी अहिले पाटन अस्पतालको आइसोलसनमा भर्ना भएकी छिन् ।

अर्का संक्रमित बूढानीलकण्ठ नगरपालिकास्थित बालुवा खानीका ४५ वर्षीय पुरुष रहेका छन्। उनी त्यहाँ किराना पसल सञ्चालन गर्दै आएका थिए। उनको हाल सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा बिहीबार मात्र ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकाका ६ जनामा कोरोना देखिएको थियो । त्यसमा काठमाडाैंका २, भक्तपुरका ३ र ललितपुरका महालक्ष्मीमा बस्ने ५० वर्षीय पुरुष एक जनामा काेराेना पुष्टि भएकाे हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।