फेरि सरकारले लकडाउन गर्न लागेको हो ? यस्तो छ वास्तविकता

टिप्पणी
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरमा एक जना प्रयोगकर्ताले सोधे, ‘१० गतेदेखि फेरि लकडाउन गर्ने हल्ला छ के होला वास्तविकता ?’ उनको यो सोधाई हल्लै हल्लापछिको थियो । नेपालमा सुरुमा २ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा लकडाउन सुरु गरिएको थियो । अहिले ९ हजार माथि संख्या पुगिसकेको छ । लकडाउन सुरु गर्दा निधन शुन्य थियो आजका दिनमा २३ जनाको कोरोनाबाट निधन भएको छ ।

हल्लाकै कुरो हो, यो टिप्पणीकर्तालाई पनि टोलका एक जनाले सोधे, फेरि सरकारले लकडाउन गर्दैछ अरे हो ? यस्ता हल्ला र प्रश्नहरुले सर्वसाधरणमा फेरि पनि लकडाउन हुने हो की भन्ने जान्न धेरै मात्रामा खाेजिरहेका छन् ।

हामीले पनि यस्तै प्रश्न गरेर एक जना मन्त्रीलाई सोध्यौं, उनले भने अब लकडाउन हुने जस्तो आफूलाई नलाग्ने बताए । ‘लकडाउन गर्ने नगर्ने कुरा भएको छैन, मेरो विचारमा अब पहिले जस्तो लकडाउन हुन्छ जस्तो लाग्दैन ।’ उनले जवाफ दिए ।

के अब फेरि पहिले जस्तै लकडाउन होला ?

ती मन्त्रीकाे भनाई जस्तै अब पहिले जस्तो लकडाउन हुने सम्भावना देखिदैन । सरकार आर्थिक संकटमा परेको खबरहरु प्रकाशित भइरहेका छन् । लकडाउन गरेमा पुनः राजस्व उठाउन नसकिने भएकाले सरकारको नियमित काम नै ठप्प हुने अवस्था हुने देखिन्छ ।

अर्कातिर, लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या नघटेपछि पुनः यही विधि अवलम्बन गर्न सकिने अवस्था देखिदैन । विश्वका अन्य देशले पनि लकडाउनको अहिलेको मोडेल छाडेर व्यापार व्यवसाय सुरु गरिसकेका छन् ।

नेपालमा अब के होला ?

पहिले जस्तो लकडाउन भए नभए पनि कोरोना संक्रमितको ग्राफ भने दिनहुँ उकालो चढिरहेको छ । यसले झनै खतरा निम्त्याइरहेको छ ।
सरकारले अब कोरोनासँग जुध्न केही रणनीति परिवर्तन गरेको पाउन सकिन्छ । औषधीजन्य आहर, व्यायामलाई बढावा दिने, सामाजिक दुरी कायम गर्ने इत्यादी । औषधीजन्य आहर, व्यायामको प्रचार प्रधानमन्त्री केपी शर्मा ओली आफैंलेले गरिरहेका छन् ।

अर्कातर्फ सरकारले पहिले जस्तो देशैभर लकडाउन नगर्ने तर कहाँ गर्ने नगर्ने भन्ने जिम्मा प्रदेशलाई दिइसकेकाे छ । प्रदेशले कुनै पनि जिल्ला वा पालिकालाई सिल गर्ने अधिकार पाईसकेकाे छ । ४ असारमा बसेको सिसिएमी बैठकले जिल्ला र पालिका सिल गर्ने अधिकार प्रदेश सरकारलाई दिएको हाे ।

त्यसैले अब पहिले जस्तो लकडाउन हुने सम्भावना छैन भने सम्बन्धित जिल्ला वा कुनै पालिका वा क्षेत्र भने सिल गर्ने वा लकडाउन गर्ने सम्भावना रहेको देखिन्छ ।

अब सोलोडोलो लकडाउन हुँदैन : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब सोलोडोलो रूपमा लकडाउन नहुने बताएका छन्।

सुरूवाती दिनहरूमा सबैतिर एउटै किसिमको लकडाउन गरिएको भए पनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने पोखरेलको भनाइ छ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सामान्य अवस्था नआउँदासम्म भीडभाड हुने ठाउँहरू बन्द रहने बताए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।