भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध जनाएका छन् ।

तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सोही वडाका युवा कौशल यादवले जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती हुने गरेको बताए । “सडक मर्मत सम्भारमा स्थानीय र सङ्घीय सरकारले लामो समयदेखि कुनै चासो नदिएपछि बाध्य भएर आफूहरुले सडकमै धान रोपाइँ गर्नुपरेको हो”, उनले भने ।

डेढ वर्षदेखि लथालिङ्ग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा यो सडकमा कैयौँ पटक दुर्घटनासमेत हुने गरेको छ । आफूहरुलाई सडकमा रोपाइँ गर्नु रहर नभई बाध्यता नै बनेको कौशलले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।