कात्तिक २२ । नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरणले आसन्न निर्वाचनले शान्ति र संविधान भन्दा पनि द्धन्द्ध निम्तने भन्दै निर्वाचन रोक्न पुनः आग्रह गरेका छन् ।
आजको मूल समस्या शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु र द्धन्द्ध व्यवस्थापन गर्नु नै भएको भन्दै जनयुद्धको एउटा शक्तिलाई बाहिर राखेर उक्त काम कुनै पनि हालतमा पूरा नहुने उनको भनाई छ ।
नेवा: राष्ट्यि मुक्ति मोर्चाले नेपाल सम्वतका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले १० वर्षे जनयुद्धको हिमायती नै आफूहरु भनेको दाबी समेत गरे । साच्चै भन्ने हो भने प्रचण्ड र बाबुराम पनि पछि माओवादीमा आएका हुन्, कार्यक्रममा उनले भने यस्तो अवस्थामा एउटा शक्तिलाई पाखा लगाएर शान्ति प्रक्रिया अघि बढ्छ भन्नु मृगातृष्णा मात्रै हो, संविधान त एक बन्दैन, दुई बन्दै तीन बन्दै बन्दैन ।
आफ्नो पार्टीलाई २६ सिट दिने भन्ने कुराको पनि अध्यक्ष वैद्यले कडा विरोध गरेका छन् । हामीसँग राजनीतिक एजेण्डा छन्, हामी सिटका लागि लडेका हैनौ उनले भने. ‘२६ सिट दिने भन्ने कुरा घोर अपमान हो ।’
जनविरोधी संविधान आयो भने जलाईदिने घोषणा गरेका वैद्यले प्रचण्डले सेना लगाएर आफूलाई ध्वस्त पार्न लागेको पनि उल्लेख गरे । ‘प्रचण्डले सेना लगाएर हामीलाई ध्वस्त पार्न लागेको छ’ उनले भने, ‘प्रचण्ड ध्वस्त हुन्छ कि हामी ध्वस्त हुन्छौं अन्तिममा हेरौला !’
मूर्खहरु र सिद्धिन लागेकाहरुको बुद्धि नहुने भन्दै फेरि एक पटक सबैलाई गम्भीर भएर सोच्न पनि उनले आग्रह गरेका छन् ।