वीरगन्जमा अस्पतालका स्टाफ, प्रहरी र कर्मचारीलाई कोरोना पुष्टि



काठमाडौं । वीरगन्जमा ९ प्रहरी, अस्पतालका स्टाफ तथा कर्मचारीसहित ५५ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज–१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् ।

कृषि सामाग्री प्रालिका एक जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् । एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाका हुन् ।

परीक्षणमा १७ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो ।