काठमाडौं । नेपालमा पछिल्लो पटक ६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । ललितपुरमा तीन, मोरङ, रुपन्देही र सप्तरीमा एक एक जना गरी ६ जनाको गएराति निधन भएको हो ।

गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको छ ।

पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको हो । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो ।

यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको राति ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उनमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो । यस्तै किस्ट अस्पतालमा एक जनाको निधन भएपनि विस्तृत विवरण आएकाे छैन ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको छ ।

ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्यान गएको छ ।

कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उनको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उनको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।