काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य एक महिनामा तीन पटक वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले आइतबार रातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा एक–एक रुपैयाँ वृद्धि गरेको छ ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल एक सय पाँच रुपैयाँ, डिजेल तथा मट्टीतेल समान ९१ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूची केही बढेर आएको कारण मूल्यवृद्धि गरेको निगमको भनाइ छ ।
निगमले यसअघि १७ साउनमा पेट्रोलियमको मूल्यवृद्धि गरेको थियो । त्यतिखेर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाइएको थियो । सो मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय चार र डिजेल तथा मट्टीतेल समान ९० रुपैयाँ प्रतिलिटर बिक्री मूल्य तय भएको थियो ।
त्यसअघि निगमले गत आवको ‘फाइनान्सियल क्लोजिङ’ गर्दै २६ असारमा एक रुपैयाँ मूल्यवृद्धि गरी पेट्रोल एक सय दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ८८ रुपैयाँ प्रतिलिटर कायम गरेको थियो ।





