काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आ.व. ०७५/७६ को रु.९ अर्ब ८१ करोडको तुलनामा १२.६४ प्रतिशतले बढी हाे ।

प्राधिकरणको आ.व.०७५/७६ सम्मको संचित नोक्सानी रु.१२ अर्ब २३ करोड रहेकोमा आ.व.०७६/७७ मा विगत वर्षको आय रु.६ अर्ब ४ करोडसहित संचित मुनाफा रु.४ अर्ब ८६ करोड आर्जन गर्न सफल भएको छ । आ.व.०७६/७७ मा विद्युत बिक्री तथा अन्य आम्दानी गरी कुल रु.७७ अर्ब ८० करोड आम्दानी भएको छ । जुन गत आ.व.०७५/७६ को रु.७६ अर्ब २० करोडको तुलनामा २.०९५ ले बढी रहेको छ ।

नियमित विद्युत सप्लाई गर्न सकिएको कारण विद्युत खपतमा वृद्धि भई विद्युत बिक्री बापतको आम्दानीमा वृद्धि हुन पुगेको हो । यद्यपी कोभिड–१९ ले विद्युत खपत र बिक्रीमा हुने अपेक्षित वृद्धिलाई प्रभावित गरेको प्राधिकरणले जनाएको छ । आ.व.०७६/७७ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु.५९ अर्ब २२ करोडको तुलनामा १.९५ ले न्यून अर्थात रु.५८ अर्ब ७ करोड रहेको छ ।

विद्युत खरीद बापत आ.व.०७५/७६ मा ३८ अर्ब ८९ करोड खर्च भएकोमा आ.व.०७६/७७ मा रु.३५ अर्ब १९ करोड मात्र खर्च भएको छ । आ.व. ०७६/७७ मा अन्य आय बाहेकको प्राधिकरणको आम्दानी रु. ७३ अर्ब ७६ करोडमा सञ्चालन खर्च रु.५८ अर्ब ६ करोड कट्टा गर्दा सञ्चालन मुनाफा रु.१५ अर्ब ६९ करोड हुन आएकोे छ । जुन आ.व. ०७५/७६ को सञ्चालन मुनाफा रु.१२ अर्ब ५ करोडको तुलनामा ३०.२१५ ले बढी रहेको छ । कुल उपलब्ध विद्युतमा विद्युत खरीदको हिस्सा ६०.९८ प्रतिशत रहेको छ । विद्युत बिक्री बापतको खुद आम्दानी रु.६८ अर्ब ५३ करोड मध्ये ५१.३५५ रकम विद्युत खरीदमा खर्च भएको छ । आ.व. ०७५/७६ को तुलनामा विद्युत आयात घट्न गएकोले आ.व.०७६/७७ मा विद्युत खरीद बापतको खर्चमा ९.५१५ ले घट्न गएको प्राधिकरणले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।