काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रीपरिषदमा अड्किएको छ । चार वर्षे कार्यकाल सकाएर कुलमान बिदा भएपनि उनलाई चार वर्षका लागि पुनः नियुक्ती गर्न ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले भने मन्त्रीपरिषदमा प्रस्ताव पेश गरिसकेको तर प्रधानमन्त्रीले निर्णय नगरेर अड्किएकाे पाइएकाेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानबारे निर्णय नगरे अड्काएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त) को सचिवालयले कुलमान छ्ट्टिै प्राधिकरणमा नियुक्त हुने आशा सार्वजनिक रुपमा व्यक्त गरेको छ । सचिवालयले कुलमानलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेको जानकारी गराउँदै छिट्टै नियुक्त हुने आशा व्यक्त गरेको हो ।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’ मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाई गरेको थियो । चौतर्फी रुपमा उनको पुनः नियुक्तीको माग उठिरहेको छ भने सम्बन्धित मन्त्रालयले पनि उनकै पु्नः नियुक्तीको प्रस्ताव पेश गरेको जनाएको हो । प्रधानमन्त्री ओलीले भने उनलाई पुनः नियुक्ती गर्न चासो दिएका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।