काठमाडौं । चीनले नेपाली भूमि मिच्यो भनेर बदनाम गराउने एउटा नियाेजित दूषप्रयासको अन्त्य भएको छ । विभिन्न स्वार्थ समूहले चीनले नेपाली भूमि मिचेर संरचना बनाएको, ११ नम्बर पिलर चीनले हडपेको लगायतका प्रचार गर्दै आएका थिए ।
तर, चीनले नेपाल–चीन सिमानामा अवस्थित ११ नम्बर पिलर हडपेको नभएर हिउँले छोपेको अवस्थामा फेला परेपछि चीनले नेपालको भूमिप्रति कुनै गिद्धे दृष्टि नगरेको र नेपाली भूमिकाे विषयमा चीन विरुद्ध गरिएका प्रचार नियोजित भएको खुल्न आएको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार हिउँले छोपिएको अवस्थामा ११ नम्बर पिलर फेला पारेको थियो । ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा फेला परेको हो । सिमा स्तम्भ खोज्न निस्किएको टोलीले हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमा स्तम्भ फेला पारेका थिए ।
यसअघि, सरकार प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनले नेपाली भूभाग अतिक्रमण नगरेको जनाएका थिए । चिनियाँ दूतावासले पनि नेपाली भूमि अतिक्रिमण नगरेको स्पष्ट पारिसकेको छ ।








