काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तारको अन्तिम तयारी गरिरहेका छन् । मन्त्रीमण्डल विस्तारका विषयमा सत्तारुढ दल नेकपाका अध्यक्षद्धयबीच छलफल घनीभूत रुपमा चलिरहेको छ ।

दुई अध्यक्षबीच यति बेला विभिन्न कोणमा छलफल जारी छ । उनीहरुबीच एकाध मन्त्री हटाउने की बहुसंख्यक हटाउने वा मन्त्री नहटाई अर्थ, सञ्चार र शहरी मन्त्रालय खाली रहेकोमा तिनीहरुमा मात्र मन्त्री नियुक्त गर्ने वा मन्त्रालय फुटाएर केही मन्त्री थप्ने लगायतका विषयमा समेत कुराकानी भइरहेको छ ।

दुई अध्यक्षबीच विभिन्न कोणमा छलफल भइरहे पनि अहिलेसम्म के हुने भन्ने निचोड निस्केको छैन । यद्यपी, तत्कालिन माओवादी केन्द्रबाट जनार्दशन शर्मा, पम्फा भुसाल र प्रभु शाह मन्त्री हुने लगभग पक्कापक्की जस्तै बनिसकेको छ । वर्षमान पुन र विना मगरलाई मन्त्रीबाट फिर्ता बोलाउने विषयमा पनि छलफल भइरहेको छ । माओवादीले सम्हालेको उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राउने विषयमा पनि छलफल जारी छ । तर, ठोस हुन सकेको छैन ।

यता, तत्कालिन एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, महिला बालबालिका मन्त्री पार्वत गुरुङ, भूमि मन्त्री पद्मा अर्याल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई बाहेकका मन्त्रीहरु फेर्ने विषयमा कुराकानी भइरहेको छ ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, श्रममन्त्री रामेश्वर राय यादव, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा अहिलेसम्मको हट्ने लिष्टमा रहेका छन् ।

थपिने मन्त्रीहरुमा विशाल भट्टराई र यज्ञराज सुनुवार मध्ये एक जना पक्कापक्की जस्तै बनेको छ । माधव नेपाल पक्षले सुनुवारलाई छाडेको छैन भने प्रधानमन्त्री ओलीको रोजाईमा भट्टराई रहेका छन् । भिम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, महेश बस्नेतको चर्चा पनि छ । यता, पर्यटन मन्त्री योगेश भट्टराई भने सञ्चारमन्त्री हुने सम्भावना बढेर गएको छ । प्रधानमन्त्री आफैंले उनलाई सञ्चारमन्त्री बनाउन रुचाएको पाइएको छ ।

कसले मार्ला अर्थमन्त्रीको बाजी

अहिले अर्थमन्त्री को हुने भन्ने पेचिलो विषय बनेको छ । अर्थमन्त्रीका रुपमा सुरेन्द्र पाण्डे, विष्णु पौडेल, प्रदिप ज्ञवालीको चर्चा छ । प्रधानमन्त्री ओलीले प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउन चाहेको बुझिएको छ । यता, पार्टी महासचिव विष्णु पौडेलले महासचिव पद त्यागेर भएपनि अर्थमन्त्री बन्न चाहेको चर्चा पनि छ । बरिष्ठ नेता माधव नेपालले भने सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन खोजेका छन् । प्रधानमन्त्रीको रोजाई अनुसार नभएमा राज्यमन्त्री नियुक्त गरेर भएपनि अर्थमन्त्री आफैंले राख्न सक्ने चर्चा पनि चलेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।