माधव नेपालको सरकारलाई चेतावनी– ‘कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लेऊ’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । नेपालले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको जनाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।

‘मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले भनेका छन्– ‘सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।’

उनले संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित रहेको भन्दै यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने पनि बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।