काठमाडौं । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित लगभग निश्चित जस्तै बनेको छ । ब्याटलग्राउण्ड राज्य मिसिगनमा बाइडेनको जितसँगै राष्ट्रपति चुनाव जित्ने निश्चित भएको छ । पछिल्लो तथ्यांक अनुसार बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत प्राप्त भएको छ । अब उनको पक्षमा ६ मत आएमा मात्र उनलाई राष्ट्रपति बन्न पर्याप्त हुनेछ । नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ ।

बाइडेनले पेन्सिलभेनिया पनि जितेमा २९० इलेक्टोरल मत प्राप्त हुनेछ । तर बाइडेनलाई चुनाव जित्न अब पेन्सिलभेनिया नजिते पनि पुग्ने भइसकेको छ । उनले आफ्नै पकड रहेको नेभाडा जितेमा पनि पुग्ने भएको छ । यता, नेभाडाबाहेक पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिना जित्दा पनि ट्रम्पले २७० इलेक्टोरल मत प्राप्त नगर्ने निश्चित बनेको छ ।

यता, हार निश्चित जस्तै बनेसँगै हालका राष्ट्रपति समेत रहेका राष्ट्रपतिका अर्का उम्मेदवार डोनाल्ड ट्रम्प अदालती प्रक्रियामा गएका छन् । जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका हुन् । उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन् । उनले यी राज्यको मतदानमा ‘धोकाधडी’ भएको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।