दिनभरी प्रधानमन्त्रीको विरोध, बेलुकी मन्त्रीका रूपमा सपथ

काठमाडौं । पूर्वमाओवादी नेता तथा माओवादी कोटाबाट सांसद बनेका गौरीशंकर चौधरीले शनिबार माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध चर्को नारा लगाए । संसद विघटन गैरसंवैधानिक कदम भएको भन्दै विरोधमा खडा भए । विरोधमा खडा मात्र भएनन् निर्वाचन आयोगमा जान माइतीघरबाट सुन्धरासम्म पुगे ।
जब सुन्धरासम्म पुगे त्यसपछि उनी लापत्ता भए । साँझ भने एकैचोटी उनी शितल निवासमा मन्त्रीको रुपमा सपथमा देखिए । धेरैलाई यो कुनै नाटक वा उपन्यासको हरफ जस्तो लाग्न सक्छ । तर, उनै चौधरीका लागि भने यो यथार्थ हो । शनिबार दिनभरी प्रधानमन्त्री ओलीको विरोध गरेका उनले साँझ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा सपथ लिएका हुन् । उनी यसअघि पूर्व माओवादी थिए । तर, उनले मन्त्री पाएपछि प्रचण्ड–नेपाल समूहको साथ मात्र हैन, आन्दोलनको बिच बाटैबाट गायब भएर साँझ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै मन्त्रीमण्डलमा मन्त्रीका रुपमा सपथ खाएका हुन् ।
प्रधानमन्त्रीका विरुद्ध जुलुसमा भएको मान्छे साँझ मन्त्रीको रुपमा देखिएको भन्दै अहिले उनको विषयमा सामाजिक सञ्जाल तथा चिया पसलमा किस्सा हुने गरेको छ ।