प्रदेश १ का मुख्यमन्त्री विरुद्ध नेकपाकै सांसदद्धारा अविश्वास प्रस्ताव दर्ता

विराटनगर । सत्ताधारी नेकपा सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रचण्ड–नेपाल समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । ‍‍‍प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।
अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराएका थिए । अविश्वास प्रस्तावको तयारीमा अगुवाइ गरेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् । यसअघि आइतबार बिहान सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला