आयल निगमकाे नाफाः कोरोनामा पनि अघिल्लो वर्ष भन्दा ४ अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले कोभिड संक्रमणले विश्व अर्थतन्त्र नै तहस नहस भइरहेको अवस्थामा पनि अघिल्लो वर्षको भन्दा ४ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । निगमले अघिल्लो वर्षको भन्दा यस वर्ष सरकारलाई १ अर्ब ३५ करोड रुपैयाँ बढी राजश्व पनि तिरेको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा निगम १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा पुगेको छ । निगमले पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ढुवानी खर्च घट्नुका साथै निगमले नाफाको रकम पूर्वाधार विकासमा खर्च गरी बचेको रकमलाई निक्षेपमा लगानी लगाई ब्याजमा समेत आर्जन गरी आफ्नो मुनाफामा बढाउन सफल भएको निगमले जानकारी गराएको छ ।

निगमको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड नाफा गरेको थियो । सोबाट ४ अर्ब १२ करोड रुपैयाँ नाफा बढाएर आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा पुराउन निगम सफल भएको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अघिल्लो वर्षको नाफा रकमलाई ब्याज लगाइ र पाइपलाइन मार्फत डिजेल आयातले ढुवानी खर्च कम गरी कोभिडको महामारी अवस्थामा पनि निगमलाई नाफा ल्याउन सफल भएको बताए । पौडेलले निमगलाई नाफामा ल्याउनुको साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुग्ने गरी १५ अर्ब २९ करोड राजश्व तिरेको बताए । उनले निगमको नाफा रकमलाई ब्याजमा लगाइ १ अर्व ७७ करोड आम्दनी बढाएको बताए । कार्यकारी निर्देशक पौडेलका अनुसार अघिल्लो वर्षको नाफा रकमको ब्याजमार्फत ७६ करोड ५६ लाख रुपैयाँ आम्दानी बढेको थियो भने यसवर्ष नाफा रकमको ब्याजबाट १ अर्व ७७ करोड रुपैयाँ आम्दानी बढाएको छ ।

पौडेलका अनुसार पाइपलाइनबाट डिजल आयात गर्दा डिजल ढुवानी भाडा खर्च १ अर्व ४७ करोड बचत भएको छ । अघिल्लो वर्ष निगमको इन्धन ढुवानी भाडा खर्च ५ अर्ब ६५ करोड रुपैयाँ भएको थियो भने यसवर्ष इन्धन ढुवानी भाडा घटेर ४ अर्ब १८ करोड रुपैयाँ मात्र खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष इन्धन ढुवानी भाडा कम भइ १ अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो । निर्देशक पौडेलले पाइपलाइन मार्फत डिजेलको आयात र कोरोनाका कारण विगतको भन्दा पेट्रिलियम पदार्थको आयात कम भएकाले पनि ढुवानी खर्च गतवर्ष भन्दा कम भएको जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।