Friday, August 14, 2026
24.1 C
Kathmandu
Home मुख्य समाचार चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो

चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो

अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो लाग्न थालेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण गर्न लकडाउन घोषणा भएपछि ‘क्वाड’ को मजा लिन आउने पर्यटकको सङ्ख्या कमी भए पनि दशैँ–तिहारयता क्वाडको आकर्षण बढेको सञ्चालक रामशरण नेपालले बताए । एक वर्षअघि गेयर नेपाल प्रालि र चित्लाङको चित्लाङ रिसोर्ट प्रालिले संयुक्तरूपमा क्वाड मोटरसाइकलको व्यावसायिक सञ्चालन शुरु गरेका थिए । चित्लाङमा अहिले पाँच वटा क्वाड सञ्चालनमा रहेका छन् । चित्लाङ रिसोर्टबाट थाहा नगपालिका–९ चित्लाङ माझगाउँसम्मको कच्ची सडकको करिब सात किलोमिटर खण्डलाई क्वाड सञ्चालनको मार्ग तय गरिएको छ ।

चीनबाट प्रतिथान करिब रु ११ लाख तिरेर भित्र्याइएको क्वाड सञ्चालन गर्न स्थानीय वडा कार्यालयले अस्थायी अनुमति दिएको छ । नेपालमा क्वाड सञ्चालन तथा नियमन गर्ने विषयमा कानूनी व्यवस्था नभएको र कार्यविधिसमेत नभएकाले हाल अस्थायी अनुमति लिएर कच्ची बाटोमा सञ्चालन गरिएको सञ्चालक नेपालले जानकारी दिए । क्वाड मोटरसाइकल विदेशमा खासगरी मरुभूमि, हिलो र सतह नमिलेको बाटोमा साहसिक यात्राका लागि प्रयोग गर्ने गरेको पाइन्छ । चित्लाङमा पनि क्वाड चढ्नेले हिलो, चिप्लो र चट्टानी बाटोमा अझ रमाइलो हुने अनभव सुनाएका छन् । भक्तपुरबाट क्वाडको मजा लिन आउनुभएका रञ्जित व्यञ्जनकारले तुसारो पग्लेर हिलाम्मे बाटोमा क्वाड चलाउँदा निकै रमाइलो अनुभव भएको सुनाए ।

सात किलोमिटर क्वाड यात्राका लागि रिसोर्टले पर्यटकसँग रु तीन हजार लिने गरेको छ । यात्राअघि रिसोर्टले केही समय आवश्यक निर्देशन दिनुका साथै परीक्षणसमेत गराउने गरेको छ । पर्यटक क्वाड यात्राका लागि निस्केपछि रिसोर्टले कर्मचारीमार्फत अनुगमनसमेत गर्ने गरेको छ । यी कामका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ । चित्लाङ धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता रचेकाे गुर्जुधारासहित लिच्छविकालीन ढुङ्गेधारा, पाटी, पौवा, धर्मशाला, नेपालकै पहिलो बाख्राको चिज, ऐतिहासिक झरना, चैत्य, चिःवहा आदिले चित्लाङ पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको रूपमा रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।